विराटनगर । खेतमा गोरु जोतिरहेको अवस्थामा चट्याङले लागेर मोरङमा सोमबार एकजनाको मृत्यु भएको छ अर्का एक घाइते भएका छन्। धनपालथान गाउँपालिका-३ सोराभागका ५० वर्षीय श्याम मण्डलको घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कवीन्द्र कार्कीका अनुसार मण्डल घरबाट अन्दाजी दुई सय मिटर पर रहेको खेत धान रोप्नका लागि हिल्याउँदै थिए।
चट्याङले मण्डलको मृत्यु भएको र जोतिरहेका एक हल गोरु पनि मरेको कार्कीले बताए। मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइएको छ।
त्यस्तै, चट्याङले लागेर एक युवती घाइते भएकी छन्। आफ्नै घरमा बसिरहेका बेला मोरङकै सुनवर्षी नगरपालिका(९ पार्वती टोलकी २८ वर्षीया लक्ष्मीदेवी केविरथ चट्याङ्ले लागेर घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएकी उनको चट्याङले कान र टाउकोमा चोट लागेको छ । चट्याङले स्थानीय श्रवण सहनीको विद्युत मिटर बक्समा पनि क्षति गरेको प्रहरीले जनाएको छ।










