झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र चल्ने ठुला वा साना अब कुनै पनि सवारी साधनले पटके कर तिर्नु नपर्ने भएको छ । मेचीनगरले चालु आर्थिक वर्षदेखि पटके सवारी कर हटाएको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।

पटके सवारी करका नाममा नगरवासी र आगन्तुकहरुले सास्ती व्यहोर्नु नपर्ने भएको छ । नगरका हरेक नाकामा ढाँट तेस्र्याएर पटके कर उठाउने कार्यको नगरपालिकाले यसै आर्थिक वर्ष २०७६/०७७ देखि अन्त्य गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेचीनगर मुलुकको प्रवेश नाका समेत भएको कारण नगर क्षेत्रमा पर्यटकहरूलाई यातायातमा सुविधा होस् भनेर यो वर्षदेखि पटके सवारी कर खारेज गरेको नगर प्रमुख आचार्यले जानकारी दिए।

सरकारले सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेका कारण सार्थक पार्न सडकमा राखिएका ढाँट हटाउन यो व्यवस्था गरिएको प्रमुख आचार्यले बताए । नगरका उद्योगी व्यवसायीहरूलाई समेत समयमै आफ्ना सवारी साधनको दर्ता गरी वार्षिक कर बुझाउन नगरपालिकाले आग्रह पनि गरेको छ ।