बुटवल – पूर्वी नवलपरासीको नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी गरिएको छ । आगजनी गरेको बा२झ ३५०२ नम्बरको गाडी श्रेस्तेदार शारदादत्त बडू चड्ने हो । श्रेस्तेदार बडू कावासोतीस्थित थकाली चोकमा भाडाको घरमा बस्दै आएका छन् ।घर छेउमा पार्किङ गरेर राखेको गाडीमा शुक्रवार बिहान आगजनी गरिएको हो । गाडीमा आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । आगो लगाउने व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता नायव उपरीक्षक अर्जुनकुमार रानाभाटले बताए ।
गाडीमुनि बोरामा मट्टितेल लगाएर आगो लगाइएको प्रहरीले जनाएको छ । आगजनीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । साउन ७ देखि नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले सरकारी गाडी चल्न नदिने भन्दै प्रतिबन्ध लगाएको छ । गाडी पनि विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । आगो लगाउने व्यक्तिको खोजी भइरहेको नायब उपरीक्षक रानाभाटले बताए ।
विप्लव समूहले सरकारी गाडी चल्न नदिने समाचारपछि जिल्लाका अधिकांश सरकारी नम्बर प्लेटका गाडी चल्न सकेका छैनन् । सुरक्षा निकायबाहेक अन्य सरकारी गाडी सडकमा देखिएका छैनन् । सबैजसो स्थानीय तहका प्रमुख र अन्य जनप्रतिनिधिका गाडी कार्यालय र घरमा राखिएका छन् । अतिआवश्यक काममा जानुपर्ने जनप्रतिनिधिले रातो प्लेटका गाडी भाडामा लिएर जाने गरेका छन् ।










