धरान/ मादक पदार्थ सेवन(मापसे) गरेर यातायातका साधन चलाउनेलाई अब ट्राफिक प्रहरीले ठाउँका ठाउँ प्रमाण–पत्र दिने भएको छ ।

एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रदेशभरका मुख्य शहरमा जाँच गर्दा मापसे गरेको पाएमा सेवन गरेको मात्रासहित तुरुन्तै प्रमाण–पत्र प्रिन्ट गरेर दिने भएको हो । प्रदेश ट्राफिक प्रहरीका प्रमुख एसपी भीमबहादुर दाहाल भन्छन्, ‘अब मापसे गर्नेलाई तुरुन्तै उसले खाएको मात्रासहित प्रमाणका लागि पत्र दिएर जरिवाना असुल गरिन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक नम्बर प्रदेश सरकारले ट्राफिक प्रहरीलाई आइतबार २४ लाख ४३ हजार ४ सय रुपैयाँका २० वटा आधुनिक ब्रेथलाइजर प्रदान गरेको छ । ब्रेथलाइजरमा मादक पदार्थ सेवनको मात्रासहित प्रिन्ट गर्ने सुविधा रहेको छ । यसअघि ट्राफिकसँग ५१ वटा ब्रेथलाइजर भए पनि मापसे गरेको मात्रा स्क्रिनमा मात्र देखिने तर प्रिन्ट हुने व्यवस्था थिएन ।

त्यसैगरी प्रदेश सरकारले ट्राफिकलाई ४८ लाख १७ हजार १ सय ९० रुपैयाँ मूल्यका ७ वटा राडार गन पनि दिएको छ । राडार गनले यातायातका साधनको गति मापन गर्छ । एसपी दाहाल भन्छन्,‘हाई–वेमा ओभरस्पिड कुदाउनेलाई अब हामी छाड्दैनौं ।’

पहिला प्रदेश ट्राफिकसँग ४ वटा मात्र राडार गन थिए, ती पनि राम्रो गुणस्तरका थिएनन् । एसपी दाहालले ओभरस्पिडमा कुदाउने मोटरसाइकल, बसलगायतका कुनै पनि साधनलाई नियन्त्रणमा लिएर तुरुन्तै कारबाही गरिने बताए ।

आइतबारै प्रदेश सरकारले ४ लाख २९ हजार ४ सय मूल्यका १ सय थान ह्विल लक पनि दिएको छ । यसले जथाभावी पार्किङ गरिएका यातायातका साधन लक गरेर नियन्त्रणमा लिइन्छ । ट्राफिकलाई जम्मा ७७ लाख ९ हजार ९ सय ९० रुपैयाँका उपकरणहरू प्रदेश नं.१ सरकारका आन्तरिक मामिला कानून तथा मन्त्री हिक्मत कार्कीले वितरण गरे । उनले आगामी दिनमा पनि प्रदेश ट्राफिकलाई व्यवस्थित बनाउँदै लैजाने बताए ।

आवश्यक उपकरण अभावमा ट्राफिक प्रहरीलाई काम गर्न असहज भएका बेला मन्त्रालयको सहयोग पाएको एसपी दाहालले बताए । उनले भने, ‘प्रदेश सरकारको सहयोगले धेरै राहत हुने भयो । अब मापसे गरेर कुदाउने, ओभरस्पिड कुदाउने र जथाभावी पार्किङ गर्नेलाई छुट हुँदैन । उनीहरू कारबाहीका भागी हुनेछन् ।’ब्लाष्टबाटसाभार