काठमाडौं – त्रिभुवन विमानस्थल हुँदै भित्रिएर गायब बनाइएको ३३ किलो सुन सहित ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरको आदेश चित्त नबुझेको भन्दै सर्वोच्चमा दायर रिटमाथिको बहस सकिएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासमा सोमवार भएको सुनुवाइमा दुवैतर्फका कानून व्यवसायीहरूका तर्फबाट बहस सम्पन्न भएको हो ।

 

उच्च अदालतको थुनछेकसम्बन्धी आदेश चित्त नबुझेको भन्दै डीएसपी सञ्जयबहादुर राउत सहित महावीरप्रसाद गोल्यान, अमरमान डंगोल, लाक्पा शेर्पा लगायत सर्वोच्च पुगेका थिए । ३ हप्ताभन्दा लामो समयदेखि जारी बहस सकिएकाले म‌ंगलवार नै आदेश आउने सम्भावना रहेको सर्वोच्च स्रोतले जानकारी दियो ।

 

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका विषयमा गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले गरेको अनुसन्धानका आधारमा फरार ३० र पक्राउ परेका ३३ गरी ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको थियो । उक्त प्रकरण जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च आइपुगेको हो ।

 

डीएसपी राउत लगायतलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने जिल्ला अदालत मोरङको आदेश उच्च अदालत विराटनगरले पनि सदर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय