काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट ३६ हजार रुपैयाँमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण गरेको हो ।
उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ । निगमको यो प्रवर्द्धनात्मक भाडा हो । दसैंअघि पुनःअर्को भाडादर निर्धारण गरिने जनाइएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।
निगमले वाइडबडी ए–३३० जहाजमार्फत ओसाका उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ ।, कारोबार दैनिकले खबर छापेको छ ।