२ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सवारीसाधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नै सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् ।मन्त्री सोनलले २ वटा ४ पांग्रे गाडी प्रयोग गरिरहेका छन् । एउटा सरकारी गाडी उनी आफैं चढ्ने गर्छन् भने अर्को सरकारी ४ पांग्रे गाडी मन्त्री सोनलका पत्नी र छोराले चढ्दै आएका छन् ।

२०७५ मंसिर २१ गते मन्त्रालयको अभिलेखमा दाखिला गराइएको ज१झ ४३४ नम्बरको सेतो प्लेटको सफारी स्टोर्म मन्त्री सोनलले आफैं चढिरहेका छन् । ७० लाख ७२ हजार ९ सय ९९ रुपैयाँमा मन्त्रालयले खरिद गरेको ४ पांग्रे गाडी मन्त्री सोनलले चढ्ने गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट को१झ ४९६ नम्बरको सेतो प्लेटको सेतो रंगको महेन्द्रा एस्कार्पियो गाडी भने मन्त्री सोनलका पत्नी र छोराछोरीले चढ्दै आएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नयाँ गाडी किन्नुअघि मुख्यमन्त्री कार्यालयबाट हस्तान्तरण गरिएको को१झ ४९६ नम्बरको गाडी फिर्ता गर्नुको साटो उनले आफ्नै मातहत राखेर परिवारका सदस्यलाई मोजमस्ती गर्न दिएका छन् ।भौतिक पूर्वाधार विकास मन्त्रालयको जिन्सी फाँटमा रहेको अभिलेखमा दाखिला भएको गाडीबारे जिन्सी फाँटका प्रमुख अनिता राउतले भनिन्, ‘ज१झ ४३४ नम्बरको गाडी मन्त्रीज्यूले आफैं चढ्नुहुन्छ भने अर्को गाडी को१झ ४९६ नम्बरको ४ पांग्रे गाडी प्रायःजसो मन्त्रीज्यूले काठमाडौंमैं राख्नुहुन्छ ।’

मन्त्रालयका सचिव पुष्करनाथ घिमिरेले आफूलाई गाडीबारे जानकारी नरहेको प्रतिक्रिया दिए । ‘मन्त्रीज्यूले ज१झ ४३४ नम्बरको गाडी चढ्नुहुन्छ भन्ने कुरा त थाहा छ तर अर्को गाडी पनि लिनुभएको छ र परिवारका सदस्यले चढ्नुभएकोबारे जानकारी छैन,’ सचिव घिमिरेले भने, ‘यदि अभिलेखमा गाडी दाखिला भएको छ भने त्यो बुझ्नैपर्ने हुन्छ ।’ स्रोतका अनुसार अर्को गाडी की त मन्त्री सोनलको गृहजिल्ला बारास्थित घरमा हुन्छ कि त काठमाडौंमा हुन्छ । मन्त्री सोनलका परिवारका सदस्य र पार्टी कार्यकर्ताले व्यक्तिगत काममा समेत सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।

कर फिर्ताको माग

सङ्घीयताको भावना र सामुदायिक वन अभियानको मर्म विपरित प्रस्तावित कर फिर्ताको माग गर्दै सामुदायिक वन उपभोक्ता महासङ्घले देशव्यापीरुपमा चरणबद्ध आन्दोलन गर्ने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहले छुट्टाछुट्टै गरी वन पैदावार विक्रीबाट हुने कूल आम्दानीको ९० प्रतिशत कर लिने सरकारको प्रस्तावका विरुद्धमा महासङ्घ आन्दोलनमा उत्रने जनाएको छ । नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र प्रदेशमार्पmत प्रस्तावित विधेयकमा सङ्घीय सञ्चित कोषमा १५, प्रदेश र सेवा शुल्क सञ्चित कोषमा २७ प्रतिशत छुट्याउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै स्थानीय तहको सञ्चित कोषमा १०, मूल्य अभिवृद्धि कर १३ र उपभोक्ता समूहको बचत रकममा आयकर २५ प्रतिशत कर लगाउने नीतिप्रति महासङ्घको आपत्ति रहेको महासङ्घ कास्की अध्यक्ष विश्वनाथ लामिछानेले बताए ।

सहकारीको ब्याजदर अन्योल

नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नसक्ने जनाएको छ । खुल्ला बजार अर्थ नीतिलाई नेपालले आत्मसात् गरेको हुँदा ब्याजदर तोक्न नमिल्ने बताइएको छ । सहकारी पत्रकार समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘सहकारीमा ब्याजदर’ विषयक अन्तरक्रियामा राष्ट्र बैंकका प्रतिनिधि नवीन्द्र विष्टले ब्याज र ऋणको अन्तर (स्प्रिड) दर बाहेक किटान गरेर सहकारी संस्थाका लागि ब्याजदर निश्चित गर्न नसकिने बताए ।

नेपाल राष्ट्र बैंकले यही साउन ८ गते सार्बजनिक गरेको मौद्रिक नीतिमा वाणिज्य बैंकका लागि चार दशमलव चार प्रतिशत स्प्रिड दर तोकेको छ । गत वर्षभन्दा यस वर्ष राष्ट्र बैंकले शून्य छ प्रतिशतले स्प्रिड दर घटाएको हो । गत वर्षको स्प्रिड दर पाँच प्रतिशत थियो ।नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये लगभग २२ हजारले वित्तीय कारोवार गर्छन् । बचत तथा ऋण परिचालन गर्नै सहकारीले थोरैमा ११ प्रतिशतदेखि बढीमा २३ प्रतिशतसम्म ब्याज असुल्ने गरेको बताएका छन् । नेपालको मुलुकी आचारसंहितामा भने १० प्रतिशतभन्दा बढी ब्याज असुल्न नपाइने उल्लेख छ ।

सहमति बिनै ब्याज बढाए बैंकमाथि कारबाही काठमाडौं– राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ऋणीको सहमति नलिई ब्याज बढाउने बैंकहरुमाथि कारबाही गरिने बताएका छन् । सांसदहरुले ख्णीलाई कुनै सूचना नै नभई बैंकहरुले ब्याज बढाउने भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रश्न गरेपछि गभर्नर नेपालले कारबाही गरिने बताएका हुन् । बाणिज्य बैंकहरुले अहिले १५ प्रतिशतसम्म ब्याज लिने गरेका छन् । नेपालले आफूखुसी ब्याज बढाउन नपाइने निर्देशन डेढ वर्षअघि नै दिएको भन्दै यस्ता ऋणीको उजुरी आए आफूले बैंकहरुलाई कारबाही गर्ने बताए । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

कार्यक्षेत्र नछाड्न निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको छ ।मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ समाप्त भएकाले कार्यसम्पादन मूल्याङ्कन फाराम, सम्पत्ति विवरण बुझाउनेजस्ता कार्य गर्नुपर्ने भएकाले प्रशासकीय अधिकृतलाई कार्यक्षेत्र छाडी नजान निर्देशन दिएको मन्त्रालयका स्थानीय तह समन्वय प्रशासन शाखाका शाखा अधिकृत महेशकुमार दाहालले जानकारी दिए ।

विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव समूहको काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई मंगलबार पक्राउ गरेको छ । पूर्व सांसदसमेत रहेकी उपाध्यायलाई मंगलबार दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

विप्लव समूहको गतिविधि नियन्त्रण गर्ने क्रममा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनलेबताए । उनी सोही समूहको महिला सङ्गठनकी महासचिवसमेत रहेको प्रहरीले जनाएको छ ।एक हप्ताअघि मात्रै प्रहरीले उक्त समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो । विप्लव समूहले विभिन्न स्थानमा आपराधिक गतिविधि गर्न थालेपछि फागुनको अन्तिम साता सरकारले विप्लव समूहले विध्वंशकारी क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै उसका गतिविधिमाथि रोक लगाएको थियो ।त्यसयता प्रहरीले विप्लव समूहका ६०० भन्दा बढी नेता–कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

घण्टाकर्ण मनाइयो प्रत्येक श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने घण्टाकर्ण अर्थात् गठामुग पर्व मंगलबार भक्तपुरमा पृथक शैलीमा मनाइएको छ । विशेष गरी नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामुग नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप मंगलबार साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रुप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पु¥याई जलाएर पर्व मनाइएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा छ । निगालोको चोयाबाट पूर्ण राक्षसरुपी गठामुग बनाएर बाहिर कपडाले मोडेर विभिन्न रङ लगाइ राक्षसको स्वरुप बनाएर टोलटोलमा घुमाएर जगाती लगेर बिसर्जन गरिएको थियो । यस प्रकारको राक्षसरुपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय बाबुरत्न द्यौलाले बताए ।

काङ्ग्रेसमा पार्टी सङ्गठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सझाव दिएका छन् । गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भई हाल काठमाडौँको अत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ सुकेधाराबाट उनलाई पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । मकवानपुर जिल्ला अदालतमा राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार प्रतिवादी भएकाले श्रेष्ठलाई आवश्यक कारवाहीका लागि मंगलबारै हेटौँडा पठाइएको महाशाखाले जनाएको छ ।

उजुरीको अवस्थाबारे जानकारी

राष्ट्रिय मानवअधिकार आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएका उजुरी र उजुरीउपर भएका प्रारम्भिक तथा विस्तृत छानबिनका अवस्थाबारे जानकारी लिएको छ । आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले मंगलबार आयोगका सचिव ऋषिराज भण्डारी तथा कर्मचारीसँग उक्त सम्बन्धमा जानकारी लिएको हो ।