२६ चैत । पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै हुनुहुन्यो । अहिले उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसक्नुभएको छ ।
मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका ज्ञानेन्द्रबहादुर भित्रिकोटी २० वर्षका युवा हुनुभएको छ । मतदानपछि त्यही वर्ष जन्मिएकाको उमेर पनि १८ वर्ष नाघिसकेको छ । पछिल्लो स्थानीय निर्वाचन २०५४ सालमा भएको थियो । त्यसयता भएको छैन । जसलेगर्दा आम नेपालीको मतदान गर्ने इच्छा र चाहना पूरा हुन सकेको छैन ।
मोरङ वयरवनकी दुक्कादेवी राजवंशी गएको स्थानीय निर्वाचनमा ६६ वर्षकी हुनुहन्थ्यो । अहिले उनी ८५ वर्ष पार गर्दै हुनुहुन्छ । यी त केही सामान्य उदाहरण हुन । २०५४ सालमा भर्खर जन्मिएका शिशु जवान भएका छन् । जवान वयस्क भएका छन्, भने वयस्क वृद्ध भएका छन् । लामो समयसम्म स्थानीय निर्वाचन नहुँदा मतदान गर्नबाट धेरै वञ्चित भएका छन् ।
२००७ सालदेखिकै परिवर्तनलाई नजिकबाट हेरिरहेका मानबहादुर भित्रिकोटीले मतदान गर्ने तीव्र इच्छा व्यक्त गर्दै भन्नुहुन्छ , “वैशाख ३१ गतेसम्म त अब कसो नबाचौंला ? त्यहाँबाट पनि उता स¥यो भने चाही यसै भन्न सकिँदैन ।”
करिब दुई दशकपछि हुनलागेको स्थानीय तहको निर्वाचनले मतदाता उत्साहित देखिएका छन् । सहर, बजार र ग्रामीण क्षेत्रका चिया पसलमासमेत यतिबेला कुराकानी गर्ने प्रमुख विषय नै स्थानीय तहको निर्वाचन बनेको छ । दलका नेता गाउँ पस्ने क्रम बाक्लिएको छ । आफ्नो महत्वपूर्ण अधिकार प्रयोग गरी जनप्रतिनिधि छान्ने सुनौलो अवसर गुम्ने हो कि भन्ने चिन्ता पनि उनीहरुमा छ ।
फोटो फाइल तस्विर हो । भित्रिकोटीको होइन



