काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ठेकेदारको हीतमा काम गर्ने कर्मचारीलाई छुट नदिने बताएका छन् । शुक्रबार मन्त्रालयले गरेको वार्षिक समिक्षा कार्यक्रममा कर्मचारीलाई संवोधन गर्दै मन्त्री पण्डितले विकास आयोजना सञ्चालनको क्रममा ठेकेदारलाई हीत गर्ने कर्मचारीलाई दण्डित गर्ने बताएका हुन् ।

उनले भने– ‘विगतमा के–के भए थाहा छैन, कतिपय ठेकेदारको हितमा हुनेगरी कर्मचारीले काम गर्ने गरेका छन्, त्यस्ता कर्मचारीले अब दण्डित हुने बेला आएको छ ।’ उनले संघीय मामिला मन्त्रालयबाट हुने आयोजनाको चिठी लिन ठेकेदार अर्थमन्त्रालय जान्छ भने त्यहाँ कर्मचारीको केही कैफियत हुने भन्दै त्यस्तो कैफियत नगर्न निर्देशन दिए ।

उनले कतिपय आयोजनाहरुको ठेक्का लगाएपछि गोल्डेन जुब्ली मनाएको र कतिपयले सिल्भर जुब्ली मनाएको भन्दै योजना कार्यान्वयन नगर्नेको अब कागजमा मूल्याङ्कन नहुने बताए । सरकारले सार्वजनिक खरिद नियमावली पुन संशोधन गर्न लागेको भन्दै समयअनुसार सबैलाई परिचालन गर्ने बताए । उनले विकास आयोजनाको ठेक्का दिँदा अब ५ प्रतिशत मोबिलाइजेशन खर्च दिने र सामान ल्याएर काम गर्न थालेपछि तप ५ प्रतिशत मोबिलाइजेशन खर्च दिने उल्लेख गरे ।

उनले आफ्नो काम छोडेर अरु काममा समय बिताउने कर्मचारीे त्यो समयको पेनाल्टी तिर्नुपर्ने बताए । मन्त्री पण्डितले भने– ‘जसलाई जे जिम्मेवारी तोकिएको छ, उसले त्यो काम गर्नुपर्छ, अरु काममा लागेर दिन बिताउनेलाई छुट दिइने छैन । उसले अतिरिक्त काममा बिताएको समयको पेनाल्टी तिर्नुपर्छ । अब कार्यक्षमताको अभाव र जिम्मेवारी पूरा नगर्ने राष्ट्रसेवकलाई माफी दिइने छैन । आवश्यक प¥यो भने बिदा पठाउनुपर्ने हुन्छ ।’

सडकको कालोपत्रे कार्पेट फोल्डिङजस्तो किन हुन्छ ?

सडक कालोपत्रे गुणस्तरहिन हुने गरेको भन्दै मन्त्री लालबाबु पण्डितले पिच सडकलाई कार्पेट फोल्डिङ गरे जसरी कसरी उक्काउन सकिने भएको भन्दै प्रश्न गरे । उनले आफूले सामाजिक सञ्जालमा त्यस्तो फोटो तथा भिडियो देखेको भन्दै आगामी दिनमा त्यस्तो काम नगर्न निर्देशन दिए ।

उनले मन्त्रालयले यो बर्ष व्यवस्थापनको काममा धेरै लाग्नु परेकोले विकास निर्माणको काममा मध्यमस्तरीय मात्र प्रगति गर्न सकेको बताए । अब सेवा प्रवाह र विकासको काममा तीब्र गतिमा अघि बढ्ने बताउँदै समयसिमा सहित र कुनै प्रश्न नउठ्नेगरी अगाडि बढ्ने बताए ।

उनले हालै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग मन्त्रालयले यो आर्थिक बर्षभर गर्ने कामको बारेमा करार गरेको र आफूले पनि सचिवसँग करार गरेको भन्दै काम गर्न नसके कारवाहीमा पर्ने भएकोले सचेत भएर काम गर्न सबैलाई आग्रह गरे ।

उनले अहिले केही संख्यामा कर्मचारीको अभाव भोग्नुपरेपनि लोकसेवा आयोगले विज्ञापन खुलाएर परीक्षा लिँदै नतिजा सार्वजनिक गर्ने र त्यहाँबाट नयाँ कर्मचारी आएपछि सहज हुने बताए ।

यो महिनाभित्र संघीय निजामती सेवा ऐन संसदबाट अघि बढ्ने बताँउदै प्रदेश र स्थानीय निजामती सेवा ऐन पनि अघि बढाएपछि कामले गति लिने उनले बताए । उनले भने–‘अब धेरै अप्ठेरा दिन समाप्त हँुदैछन् । तर अप्ठेरो नहुने भन्ने पनि छैन । सबैले आफ्नो कामको जिम्मेवारी बहन गरेर जानुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय