दमक, २२ साउन । 'आदिवासी मातृभाषाहरु' मूल नारासहित विश्वभर मनाउन लागिएको २५औं विश्व आदिवासी दिवस झापाको आदिवासी रङ्गशालामा धुमधाम साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् झापा सहित जिल्लाका १५ वटै स्थानीय तहका शाखाहरुको आयोजनामा साउन २४ गते (९ अगस्ट) दिवस मनाउन लागिएको हो ।

कार्यक्रमका प्रचार प्रसार संयोजक एवम् महासंघका सचिव बिरेन मेचेले दिएको जानकारी अनुसार विश्व आदिवासी दिवस कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । कमल ५ स्थित आदिवासी रङ्गशालामा खुल्ला सभासहित जिल्लाभरबाट आदिवासी जनजाति सम्वद्ध संघसंस्थाका अगुवा र सरोकारवालाहरुको सहभागितामा कार्यक्रम हुने मेचेले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने -'महासंघ जिल्ला र १५ स्थानीय तहका महासंघको साझा कार्यक्रम गर्न लागेका हौं ।' आदिवासी रङ्गशालामा हुने कार्यक्रमको लागि मन्च निर्माण कार्य भैरहेको छ भने प्रचार प्रसार लगायत अन्य कार्यहरु जारी रहेको आयोजकले जनाएको छ । देशभर लोकसेवा आयोगले खुलाएको असमावेशी विज्ञापन विरुद्ध आन्दोलनरत नेपाल आदिवासी जनजाति महासंघ सङ्घीय सचिवालयले भने यस वर्षको राष्टृय नारा 'पहिचान सहितको सङ्घीयता र स्वायत्तताका लागि संविधान संशोधन हाम्रो साझा अभियान, २५औं विश्व आदिवासी दिवसको सन्दर्भमा समानुपातिक समावेशीताका लागि हाम्रो आन्दोलन' तय गरेको छ ।

"मुख्यमन्त्री राई प्रमुख वक्ता" २५औं विश्व आदिवासी दिवसको प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई रहने महासंघ झापाले जनाएको छ । आदिवासी रङ्गशालाको नाम परिवर्तन गरेर मदन भन्डारी रङ्गशाला राख्ने स्थानीय र सङ्घीय सरकारको प्रयास विरुद्ध आन्दोलित हुने चेतावनी दिँदै आएको महासंघले साउन २४ को आदिवासी दिवस कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा पनि लिइएको छ । आदिवासी रङ्गशालाको नाम परिवर्तन नगराउन दबाव दिँदै विभिन्न जातीय संस्था र पहिचान पक्षधर राजनीतिक शक्तिहरुले पनि पटक पटक आन्दोलनको चेतावनी दिँदै आएका छन् ।