काठमाण्डु,२४ साउन— भिमसेन थापाले बनाएका काठमाण्डुको एघार तले धरहरालाई १९९० को भुकम्पले दुई तला क्षति पुयाएको थियो भने २०७२ सालमा आएको भुकम्पले पुरै क्षति गरी धरहराले आफ्नो अस्तित्व गुमाएको थियो । चार वर्ष देखि बनाउने भने पनि धरहराको पुननिमार्ण विगत सात महिना देखि सुस्त गतिमा भइरहेको छ ।
दुई वर्षमा सक्ने लक्ष्य राखिएको काम अहिलेसम्म २० प्रतिशत मात्र सकिएको पुननिर्माण प्राधिकरण बताउँछ । निर्धारित लक्ष्यमा सक्नलाई कामको गति ब्यापक बनाउनुपर्ने हुन्छ ।यतिबेला धरहराको चारैतर्फ घेराबन्दी गरेर धमाधम काम भइरहेको छ । करिब दुई दर्जन कामदार धरहरामा खटिएका छन् । प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरे विभिन्न व्यावधानका कारण यसअघि धरहरा निर्माणमा ढिलाइ भए अब कामले गति लिने बताउँछन् । केही समयअघि स्थानीय वासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि धरहरा निर्माणको काम अबरुद्ध भएको थियो । पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्नेलगायतका माग राख्दै स्थानीयले धरहरा निर्माण क्षेत्रमै पुगेर विरोध जनाएका थिए । धरहरा निर्माण आयोजनाले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएको भन्दै केही दिन काम रोकेको थियो ।
स्थानीयले विगत ६ महिनायता आफूहरुलाई आवतजावतका लागि सहज बनाउन पैदलमार्ग खुलाउनुपर्ने माग गर्दै आएका थिए । उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दबाव दिँदै आएका छन् ।
धराहरा निर्माण समितिले माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गरेको थियो । सहप्रवक्ता घिमिरेका अनुसार स्थानीयले उठाउँदै आएको माग प्रधानमन्त्री कार्यालयले सम्बोधन गर्ने भएको छ । छलफलमा काठमाडौं मलको बीचका पैदल मार्ग खुलाउने निर्णय भएको उनले जानकारी दिए ।बाटो खोल्ने प्रक्रिया अघि बढिसकेका कारण अब अवरोध छैन, काम द्रुत गतिमा अघि बढ्छ,’ उनले भने । समयमै निर्माण सम्पन्न हुनेमा पनि आफू विश्वस्त रहेको उनले बताए ।
प्राधिकरणले जीआईईटिसी–रमण जेभीलाई धरहरा पुननिर्माणको जिम्मा दिएको थियो । कम्पनीले ३ अर्ब ४५ कारेडमा धरहरा निर्माणको जिम्मा पाएको छ । उक्त कम्पनी हालै कालोसूचीमा परे पनि त्यसले धरहराको कामलाई असर नगर्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।‘ठेकेदार कालोसूचीमा परे पनि पहिल्यै पाएको ठेक्का अघि बढाउन अवरोध छैन,’ एक अधिकारीले भने ।
धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गरिँदै आएको छ । केही निर्माण उपकरण राख्न र अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नका लागि नेपाली सेनाले टुँडिखेल प्रयोगको अनुमति दिएको छ ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागेको हो ।२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुन्छ । वि।सं। १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।
धरहरामा भर्या१ङ चढेर होइन, लिफ्टबाट उक्लिन सकिने छ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।प्राधिकरणका अनुसार धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन गरिने छैन । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागिएको प्राधिकरणले बताएको छ ।
धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्रि भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छन् । बेसमेन्टमा तल–माथि गर्नका लागि लिफ्टको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।
धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले बताएको छ ।










