भद्रपुर । माछा पोखरीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका १० बस्ने वासुदेव जोगीको १२ वर्षीय छोरा सुमन जोगी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार शनिवार बिहान घरबाट खेल्न निस्केका सुमन बेलुका अबेर सम्म घर नफर्किए पछि परिवारजनले उनको खोजतलास सुरु गरे ।
खोजतलास गर्ने क्रममा सोही नगरपालिका स्थित विष्णु कन्ट्रक्सनको माछा पोखरीको डिलमा सुमनको कपडा र चप्पल भेटिएको र उनको शव पनि त्यही पोखरीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । उनको शवलाई कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पोस्टमार्टम पछि परिवारजनले शव बुझेका छन् ।










