झापा । गौरीगंज गाउँपालिका २ कोरोवारीका किसानहरूले कृषि ज्ञान केन्द्रबाट किसानहरूले पाउने प्रोत्साहन रकम वास्तविक किसानहरूले नपाएकोमा आक्रोश व्यक्त गरेका छन् । गौरीगंज गाउँपालिका २ को वडा कार्यालयले वडावासीहरूलाई सम्बोधन गर्ने क्रममा आयोजना गरेको नागरिक सम्बोधन कार्यक्रममा तीन वटा कृषि समूहहरूले कुनै प्रकारको सूचना र जानकारी नदिई किृते कागज मिलाएर कृषि ज्ञान केन्द्र चन्द्रगढीबाट किसानका लागि विनियोजित रकम अनियमितता गर्न खोजेकोमा तीव्र आक्रोश व्यक्त गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साबिक कोरोवारी गाविसमा रहेको ४ वटा कृषक समूह मध्ये ३ वटा माङसावा कृषक समूह, तुलाचन कृषक समूह र कनकाई विपद् कृषक समूहमा अनुदानको रकम अनियमितता भएको पाइएको छ । तीन वटा कृषक समूहले कारोबारी क्षेत्रमा रहेर चैते धानबाली लगाएका कृषकहरूलाई अनुदान दिने भनी १५ लाख १८ हजार रकम विनियोजित भएको कृषि ज्ञान केन्द्र चन्द्रगढीले जनाएको छ । माङसेवा कृषक समूहले ६ लाख ८४ हजार, तुलाचन कृषक समूहले ४ लाख ६७ हजार र कनकाई कृषक समूहले ३ लाख ६७ हजार रुपैयाँ कृते कागज बनाई सही छाप गराई निकासा गरेको थियो । केही दिन अगाडि सो क्षेत्रका किसानहरूले उक्त कुरा थाहा पाएपछि वडा कार्यालय घेराउ गर्नुको साथै विरोध गर्दै आएका थिए । वडा कार्यालय आइतबार ३ वटा कृषक समूह र जनप्रतिनिधिहरूले किसानहरूलाई जानकारी गराउने सन्दर्भमा वडावासीहरूले कृते कागज गरी जालसाजी गरेर रकम निकासा गर्ने समूहलाई कानुनी कारबाही गर्न माग गर्दै नारा जुलुस गरेका थिए ।

चैतै धानवाली लगाएका वास्तविक किसानहरूले अनुदान रकम नपाई जग्गा नभएका, खेती नगरेका, मृत्यु भएका र एउटै परिवारका सदस्यहरूको नाम भएका किसानहरूको नामा बली पेशगरी रकम निकासा गरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।कारोबारीका किसान श्याम न्यौपानेले २०७१ सालमा निधन भएकी उनको हजुर आमा मनमाया न्यौपानेको नाममा रहेको धनी पुर्जा पेस गर्दै कृते सही छाप गरी आफूलाई जानकारी नगराई रकम निकासा गरेको बताए ।

त्यस्तै कोरोवारीका किसान फागुलाल राजवंशीले आफ्नो बुबा कप्तान राजवंशीको निधन २०४९ साल वैशाख १० गते मृत्यु भएको भएता पनि उनको नाम रकम लिई भर्पाइ बुझिएको देख्दा आफूलाई आश्चर्य लागेको बताए । गौरीगंज गाउँ“पालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गल्ती र कमजोरी गर्ने जो कोहीलाई पनि माफी मिनाहा नगरी कानुनी कार्यवाहक गर्न लागि पर्ने बताए । किसानहरूको नाममा आएको अनुदान रकम दुरुपयोग हुन नदिने र अनियमितता गर्न खोज्ने जो सुकैलाई पनि कानुनी कठघरामा उभियाउने प्रतिबद्धता व्यक्त गरे । चैते धान लगाउँदा पीडित रहेका किसानहरूलाई प्रोत्साहन स्वरूप नेपाल सरकारले उपलब्ध गराउने रकम कारोवारी क्षेत्रका किसानहरूलाई उपलब्ध गराएको हो ।

धानलाई भण्डारण गर्न नसक्ने र उचित मूल्य नपाई मारमा परेका किसानहरूलाई विनियोजित रकम कृषक समूह मार्फत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र चन्द्रगढीका प्रमुख सालिकराम भट्टराईले जानकारी गराए । नेपाल सरकारबाट किसानहरूका लागि विनियोजित भएको रकम आर्थिक वर्ष समाप्त हुने समयमा आफूहरूले जानकारी पाएकाले किसानहरूको घर आँगनमा पुगेर भेट्ने समय नहुँदा भूमिगत सिँचाई परियोजनामा पेस गरेका किसानहरूको धनीपुर्जाको फोटो यस कार्यक्रममा पेस गरिएको तुलाचन कृषक समूहका अध्यक्ष सुजन श्रेष्ठले जानकारी गराए । कृषक समूहहरूले रकमको अनियमितता गर्ने लक्ष्य नराखी फ्रिज हुने रकमलाई किसानहरूको हातसम्म ल्याउन उक्त कार्य गर्नु परेको जानकारी गराए ।

किसानहरूलाई कृषक समूहहरूले वास्तविक किसानहरूलाई नै वितरण गर्ने र कुनै प्रकारको अनियमितता नगरी कृषि समूहहरूको गाजीमा रकम नराख्ने जानकारी गराए । वडा नं। २ का वडा सदस्य तथा कनकाई विपद् कृषक समूहका सचिव अरुण राजवंशीले अनुदानको रकम पर्युट गर्ने समय कम भएकोले आफू नजिकका किसानहरूको धनीपुर्जाको फोटो कपि र कृते सही छाप गरी पेस गरेको स्वीकार गरे । स्थानीय किना राजवंशीले किसानहरूका लागि चैते धानवाली अनुदानमा रकम आएको तर छोटो समय भएको जानकारी गराएपछि आफूले हर प्रयास गरी दुई दिन भित्रमा ३ कृषक समूहको २५० भन्दा बढी किसानहरूको कागजात मिलाएर पठाएको वडा सदस्य अरुण राजवंशीले बताए ।