बुटवल, २७ साउन । कुनै पनि महिलालाई आफू गर्भवती रहेको र कसको गर्भ हो भन्ने कुरा जानकारी हुन्छ । तर, गुल्मीको जिल्ला अस्पताल तम्घासमा रहेकी एक युवती भने आफ्नो पेटको गर्भबारे जानकार छैनन् ।
मेरो (गोसाँ) मेरा श्रीमान पैसा कमाउन लाहुर जानु भएको छ । मैले कसरी पेट बोकें ? उनले भन्ने गरेकी छन् । तर उनी पेट बोकेर पनि सुत्केरी हुने अवस्थामा पुगेपछि अहिले गुल्मीको जिल्ला अस्पताल तम्घास ल्याइएको छ । पेटमा गर्भ भए पनि उनी अविवाहित हुन् । अन्दाजी २५ बर्षीया उनी जिल्लाको रेसुङ्गा नगरपालिकावडा–११ सिमीचौरकी अविवाहित युवती अञ्जना नेपाली (नाम गोप्य राखिएको) हुन् ।
विपन्न परिवारकी उनलाई उनकै वडाका वडाध्यक्ष मुखबहादुर रानाले आफ्नै खर्चमा प्रसुति गराउन अस्पताल ल्याएका हुन् । ‘म रगत दिन परे पनि उनलाई बचाउँछु’ वडाध्यक्ष रानाले भने, ‘मानवअधिकारवादी संस्थादेखि सबै संघ–संस्थाले पनि यी महिलाको उद्दारका लागि सहयोग गरिदिनु हुन्छ भन्ने लागेको छ ।’
युवतीको मानसिक सन्तुल ठिक नभएको वडाध्यक्ष राना बताउँछन् । उनलाई कसले गर्भवती बनायो भन्ने थाहा हुन सकेको छैन । वडा सदस्य हुमकला रानाले फकाएर सोध्दा पनि उनले कुनै व्यक्तिको नाम नलिएको जनाइएको छ । उनले जतिबेला पनि ‘मेरो गोसाँ (श्रीमान) लाहुर जानु भएको छ, म कसरी गर्भवती भएँ ?’ भन्ने गरेको वडाध्यक्ष राना बताउँछन् ।
उनले भन्ने गरेको लाहुरे श्रीमान भनिएका ब्यक्ति को हुन् भनेर पत्ता लगाउनका लागि प्रहरी प्रशासनको सहयोग लिने र उनलाई जिल्ला अस्पतालमा सम्भव नभए अरु कुनै अस्पतालमा खर्च जुटाएर पुर्याइने वडाध्यक्ष रानाले बताएका छन् ।
वडाध्यक्ष राना नेपाली सेनाका अवकाश प्राप्त सैनिक हुन् । उनी यसअघि पनि यस्ता मानवीय उद्दार कार्यमा जुट्दै आएका छन् । युवती बढी मात्रामा जथाभावी बाहिर डुल्ने गरेको जनाइएको छ । ब्यथा लागेर सडकमा लडेको थाहा पाएपछि वडाध्यक्ष रानाले जीप चालकलाई बोलाएर अस्पताल ल्याएका हुन् ।नयाँ पेज










