काठमाडौं,चैत २८ । याँ वर्षसँगै उपत्यकामा सवारीसाधनमा हर्न बजाउन नपाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्थानीय प्रशासनको निर्णयमा उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउन लागेको हो । महाशाखाका डिएसपी सविन प्रधानले १ वैशाखदेखि नै उपत्यकामा हर्न निषेध नियम लागू गरिने बताए ।

यसको सबै तयारी पूरा भइसकेको जनाएको छ । यातायात व्यवस्था विभाग, सडक विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधको तयारी भएको हो । सामान्य अवस्थामा पनि चालकले हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले निषेधित क्षेत्र बनाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकार हिमनाथ दवाडीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ‘उच्च सवारी चाप नियन्त्रण भएन भने उपत्यकामा अझै उच्च ध्वनि प्रदूषण हुन्छ,’ उनले भने, ‘ध्वनि प्रदूषण कम गर्न हर्न निषेधको नियम लागू गर्न लागिएको हो ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै नयाँ नियम लागू गर्न लागिएको उनको भनाइ छ । ध्वनि प्रदूषणले श्रवणशक्ति कमजोर पार्ने भएकाले स्वास्थ्यलाई मध्यनजर गरेर उपत्यकामा हर्न निषेधको नियम लागू गर्न लागिएको ट्राफिक महाशाखाका डिएसपी सविन प्रधानले बताए । पहिलो चरणमा हर्न निषेध नियम कार्यान्वयन खुकुलो बनाइएको छ । नियम लागू भएपछि दुई अवस्थामा मात्र हर्न बजाउन पाइनेछ । घुमाउरो बाटो र दुर्घटना हुने जोखिमको अवस्थामा चालकले हर्न बजाउने पाउने व्यवस्था नियममा छ । यसबाहेकको अवस्थामा हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्ने व्यवस्था छ । हर्न बजाएमा पहिलोपटकका लागि पाँच सय, त्यसपछि क्रमशः हजार, १५ सय जरिवाना तिर्नुपर्ने हुन्छ ।