काठमाडौंः तराईसहित विभिन्न जिल्लामा फैलिएको डेंगुबाट अहिलेसम्म झण्डै ३ हजार ५ सय बिरामी भएका छन् । गएको बैशाखदेखि अहिलेसम्म ४२ जिल्लामा ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बितेका ४ महिनामा सुनसरीमा मात्रै ३ हजार २५ जना डेंगुका बिरामी भेटिएका छन् । मोरङमा ८१, झापामा २९ सहित प्रदेश एकमा ३ हजार १ सय ५२ जना बिरामी भएका हुन् । सामान्यतया तराईमा देखिने डेंगुको संक्रमण काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा पनि देखिन थालेको छ । काठमाडौं उपत्यकाभित्र १२ जना बिरामी भएको पाइएको छ । जसमा काठमाडौंमा ६, ललितपुरमा तीन जना र भक्तपुरमा ३ जनामा डेंगु भेटिएको हो ।


धरान उपमहानगरपालिकामा करिब दुई महिनाअघिदेखि फैलिएको डेंगु रोगको प्रकोप अझै नियन्त्रणमा आउन सकिरहेको छैन । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार डेंगुका कारण बढी ज्वरो आउँछ । टाउको, पेट र जिउ दुख्ने, वाकवाकी लाग्ने, आँखामुनि दुख्नेजस्ता डेंगुका साधारण लक्षण हुन् । डेंगुबाट बच्न घर वरपर सफा राख्ने, झुलको प्रयोग गर्ने, झ्याल ढोकामा जाली राख्ने र लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने डाक्टरको सल्लाह छ । सूची

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय