काठमाडौं । स्वयम्भूमा कार्यरत एक प्रहरी जवान कोठामा मृत फेला परेका छन् । दार्चुला घर भएका २० वर्षीय प्रहरी जवान शंकर ठगुन्ना मृत भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो । नागार्जुन नगरपालिका–३ स्वयम्भूमा १५ महिनादेखि ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका ठगुन्ना शनिबार राति कोठामा मृत भेटिएका हुन् ।

सुवेदीका अनुसार गएराति १ः३० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । प्रहरी घटनास्थलमा पुग्दा डोरी काटेर शव भुइमा भेटिएकाे थियाे ।
प्रहरीका अनुसार सामान्य विवादपछि ठगुन्नाकाे मुक्का प्रहारबाट आफू लडेको र लडेको एकछिन उठेर हेर्दा झुण्डिएको देखेको महिलाले प्रहरीसँग बयान दिइएकी छन् ।
प्रहरीले महिलालाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालेकाे छ । मृत ठगुन्नाको शव पोस्टमार्टमका लागि त्रिभुवन शिक्षण अस्पतालमा राखिएको बताइएको छ ।









