काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रतिनिधित्व सबै दललाई छलफलका लागि बोलाएका छन् । मंगलवार साँझ ५ बजे बस्नेगरी सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।

'साँझ ५ बजे संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको छ,' स्रोतले भन्यो, 'बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।'
दलहरूलाई पठाइएको निमन्त्रणामा बैठकको खास एजेण्डा उल्लेख छैन । 'दलहरूलाई निमन्त्रणा गरिएको बैठकमा कुनै पनि एजेण्डा उल्लेख छैन,' स्रोतले भन्यो, 'यद्यपि आइतवार उहाँले प्रतिनिधि सभामा सार्वजनिक महत्त्वको सम्बोधन गर्नुभएको थियो । तिनै सन्दर्भमा छलफल हुन्छ ।'
आइतवार संघीय संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक हप्ताभित्र सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्त गर्ने बताएका थिए ।
उनले संक्रमणकालीन न्याय सम्पादनको सन्दर्भमा सबै दलहरूबीच आपसी सहमति हुनुपर्ने राय राखेका थिए । स्वास्थ्यमा समस्या भएपछि १० दिन लामो उपचार भ्रमणमा सिंगापुर गएका ओली पुनः फलोअपका लागि सिंगापुर जाने भएका छन्, त्यसैको पूर्वसन्ध्यामा सर्वदलीय बैठक बस्नुलाई महत्त्वका साथ हेरिएको छ । लोकान्तर बाट साभार गरीएको









