काठमाडौं, भदौं ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधव नेपालसँग छलफल गर्नुभएको छ । सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा रहँदा सचिवालय बैठक राखेर एकताको बाँकी कामको टुंगो लगाउने जिम्मेवारी दिएको भोलपल्ट अध्यक्ष प्रचण्डले असन्तुष्ट नेता नेपालसँग छलफल गर्नुभएको हो ।

प्रचण्ड निवास खुमलटारमा आज विहान दुई नेताबीच अढाई घण्टा छलफल भएको छ । सो क्रममा हिजोको सचिवालय बैठकमा भएका केही तिता घटनालाई इगोको रुपमा नलिई सल्टाएर जाने बिषयमा दुवै नेता सहमत भएका छन । विहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र नेपालबीच चर्काचर्की परेको थियो । नेता नेपालले बैठकमा नहुनु पर्ने कुरा भएको बताइसक्नु भएको छ । बैठकमा ओलीले आफु नभएपनि पार्टीको बैठक बस्न सक्ने तर सवै नेताको सहमतिमा निर्णय लिन सुझाउनु भएको थियो । आफ्नो असहमति हुँदा निर्णय भएको भन्दै अध्यक्ष ओलीको सो आग्रहको नेपालले प्रतिवाद गरेपछि बैठकमा एकाएक चर्काचर्की परेको थियो ।

आजको बैठकमा प्रचण्ड र नेपालबीच सचिवालयमा हिजो भएको बिषयलाई प्रतिष्ठाको बिषय बन्न दिन नहुने निश्कर्ष निकालिएको छ । ओली र नेपालबीच विवाद गहिरिदै गएपछि दाहालले सक्रियता देखाउनु भएको हो । नेपाललाई विहीबार साँझ टेलिफोन गरी सम्वादका लागि आफ्नै निवासमा बोलाउनु भएको थियो । दाहाल र नेपाललाई सम्वाद गराउन स्थायी कमिटी सदस्य जनार्दन शर्माले भुमिका खेल्नुभएको थियो । छलफलमा हिजोको सचिवालय बैठकमा भएको घटननाक्रमबारे गम्भीर समीक्षा भएको थियो ।

सो क्रममा नेता नेपालले सचिवालयमा नहुनु पर्ने कुरा भयो, यसलाई थप अघि बढाउनु हुन्न भन्दै आफू अध्यक्ष ओलीप्रति कहिल्यै नकारात्मक नरहेको प्रष्ट पार्नुभएको खुमलटार स्रोतले बतायो । नेता नेपालले आफूसँग भेट गर्न आउने नेता कार्यकर्तालाई पनि यही सन्देश दिएको जानकारी अध्यक्ष प्रचण्डलाई गराउनु भएको छ ।

स्रोतका अनुसार नेता नेपालले एकाएक आवेगमा आउँदा सचिवालय बैठकमा हुनै नहुने घटना भएको भन्दै सवै नेता कार्यकर्तालाई यो बिवाद चर्काउनेतिर नभई न्यूनिकरणतर्फ भुमिका खेल्न निर्देशित गर्नूपर्ने आवश्यकता पनि औल्याउनु भएको छ । स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री तथा अध्यक्ष ओली पार्टीको कमाण्ड सुम्पिएर सिंगापुर जानुभएपछि प्रचण्डले आज पहिलो पटक नेता नेपालसँग छलफल गर्नुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले हिजोको घटनालाई न्यूनिकरण गर्दै सवै नेताबीचमा सम्मान र बिश्वाशको अवस्था सिर्जना गर्न भुमिका खेल्नुपर्ने र आफू सोही अनुसार अघि बढने नेता नेपाललाई बताउनु भएको छ ।जनताटाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर