पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्ष भएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी गतिशील भएको छ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला पार्टी सचिवालयको बैठकले गरेका निर्णयहरूका आधारमा नेकपाले शुक्रबार १७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ।
२ जेठदेखि ५ भदौ २०७६ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सम्पन्न र ९ भदौ २०७६ मा प्रचण्डको अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा अन्तरपार्टी निर्देशन – २ जारी गरिएको हो।
अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी जारी गरिएको निर्देशनमा विशेष राष्ट्रिय अभियान सञ्चालन गर्ने सहितका कार्यक्रमहरू रहेका छन्।
नेकपाले करिब दुई तिहाई बहुमतको सरकार बनेपछि सरकारलाई सहयोग पुग्नेगरि संभवतः पहिलो पटक यसरी सार्वजनिक अभियानमा पार्टीलाई उतार्न लागेको हो।
‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ’, निर्देशनमा भनिएको छ।
पार्टी एकता भएको १५ महिनामा नेकपाले जारी गरेको यो दोस्रो अन्तरपार्टी निर्देशन हो।
निर्देशनमा पार्टी एकताको क्रममा नेताहरूले पाएका जिम्मेवारीका साथै आगामी कार्यक्रम उल्लेख गरिएको छ।
साथै नेकपाको बरियाताक्रममा झलनाथ खनाल तेस्रो र माधव नेपाल चौथो स्थानमा रहने तथा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटि बैठकमा लगिने उल्लेख छ।नेपालखबर










