काठमाण्डु, १४ भदौ– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका सञ्चारकर्मी रवि लामिछाने पत्नि ईशाले रवि माथिको आरोप गलत साबित होओस् भन्ने कामना गरेकी छन् ।

आफूले २५ वर्ष सहयात्रा गरेको मात्र नभई रवि दुई छोरीका बाबु भएको नाताले उनीमाथि लागेको आत्महत्या दुरुत्साहनको आरोपले आफू र छोरीहरु समेत दुःखी भएको उनको भनाइ छ । डिभोर्सपछि रविले नयाँ सांसर बसालेको (निकिता पौडेलसँग विवाह) र आफू अमेरिकामा दुई छोरीहरुको एक्लो अभिभावकत्व ग्रहण गरिरहेको भन्दै ईशाले कागजी रुपमा सम्बन्ध अन्त्य भए पनि भावनात्मक रुपमा सम्बन्ध रहेको महसुस गरेको उल्लेख गरिन् । उनले आफूले श्रीमानका रुपमा रविबाट असंख्य चोट पाएको भए पनि त्यो अहिले सम्झने बेला नभएको स्पष्ट गरेकी छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘कागजीरुपमा सम्बन्ध अन्त्य भए पनि भावनात्मक सम्बन्ध नष्ट हुन समय लाग्दोरहेछ’, नेपालको सर्वाधिक पढिने अनलाइन पत्रिका अनलाइनखबरडटकममा प्रकाशित आलेखमा ईशाले अगाडि भनेकी छन्, ‘सायद मैले आफ्नो मनबाट उनलाई पूर्णरुपमा निकाल्न सकेकी थिइनँ । त्यसैले उनलाई यो विपत्ति आइलाग्दा म बेचैन बनेँ ।’ यद्यपि ईशाले आत्महत्या गरेका पत्रकार पुडासैनीकी पत्निको सिउँदोको सिन्दुर पुछिएको र उनका श्रीमानले मर्नेबेलामा रुँदैरुँदै आफूलाई आत्महत्या गर्न विवस तुल्याएको भनेर रविको नाम लिइरहेका भिडियो हेरेपछि निकै सोचमा परेको बताएकी छन् । उनले रवि दोषी भए कारबाहीको भागिदार हुनुपर्ने र त्यतिबेला उनका अरु धेरै समर्थकसहित आफू निराश हुने उल्लेख गरेकी छन् । रवि हिरासतबाट निस्के पनि दोषमुक्त नभएको उल्ल्ेख गर्दै ईशाले अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई किनारा लगाओस् र वास्तविक तथ्यलाई बाहिर ल्याओस् भन्ने माग गरेकी छन् । ‘के धेरै मानिसहरुका लागि भगवान बनेको रविबाट कसैलाई आत्महत्यासम्म धकेल्ने दानवीय कर्म भयो होला ? मैले अझै पत्याउन सकेको छैन ’, उनले लेखेकी छन् ।

घटनामा प्रहरीले अनुसन्धान गरिरहेको हुनाले अन्तिम निचोड निकाल्ने उसैको जिम्मेवारी हो भन्दै एउटा भिडियोलाई मात्रै आधार मानेर पक्कै पनि प्रहरीले र अदालतले निर्णय लिँदैन होला भन्ने विश्वास पनि ईशाको छ । ‘भिडियोमा दिइएको बयान कति सत्य हो भनेर पत्ता लगाउने अन्य प्रमाणहरु जुटाइएलान् । र, अन्त्यमा सत्यता बाहिर आउला । म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सावित नहोस् र रवि निर्दोष प्रमाणित होउन्’ ईशाको कामना छ । भिडियोमा रविमाथि मृतक शालिकरामले ‘सिधा कुरा’ कार्यक्रम चलाउँदा मानिसहरुबाट करोडौं रकम असुल गरेको भन्ने आरोप लगाएकामा आफू स्तब्ध भएको उनको भनाइ छ । तर, २५ वर्ष लामो सहकार्यमा रविले त्यस्तो काम गरे होलान् भन्ने विश्वास नगरेको उनले बताइन् । ‘मैले २५ वर्ष रविसँग दाम्पत्य सम्बन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इमान्दार र प्रतिबद्ध थिए । अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई निस्वार्थ सहयोग गरेका हुन् । सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उपकार गरेको सुनेकी छु । तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खाएको आरोप लगाइरहँदा त्यसले मलाई अचम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने विश्वास लाग्दैन ।’- http://kathmandutoday.com/2019/08/392981.html