जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलाको बलात्कार गरी लुटपाट गर्ने सप्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का २८ वर्षीय सञ्जीव खड्का नाम बताउने सन्तोषकुमार यादवलाई सप्तरी प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रोजगारी डटकममार्फत एनआइसी बैंकलगायत विभिन्न गैरसरकारी संस्थामा जागीर लगाइदिने भन्दै सम्पर्क बनाई सन्तोषले धेरै महिलालाई जालमा पारी बलात्कार र लुटपाट गर्ने गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

आरोपितविरुद्ध पाँचजनाको उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको प्रनाउ मिश्रले बताए । सामाजिक सञ्जाल र इमोमार्फत फोन सम्पर्क गरी जागीर लगाइदिने भन्दै विराटनगर बोलाउने यादवले त्यहाँबाट आफ्नो गाउँ लगेर बलात्कार तथा लुटपाट गर्ने गरेको खुलेको छ ।

यादवलाई पक्राउ गर्नुअघि प्रहरीले उनको घरमा छापा मारी लुटिएका युवतीको मोबाइल, नगद र गरगहना बरामद गरिसकेको छ । प्रहरीले यादवको घरबाट लुटिएका महिलाको पर्स, आठ वटा मोबाइल, सुन र चाँदीका गरगहना, नगद ३४ हजार, सनराइज बैंकको भिसा कार्ड, दुई वटा चेकबुक, आन्तरिक राजश्व विभागको एक पोका स्टीकर, चक्कु, खुकुरी र छुरी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मिश्रका अनुसार यादवले नेपालगञ्ज, सिन्धुपाल्चोक, सोलुखुम्बु, कञ्चनपुरलगायत विभिन्न जिल्लाका युवतीलाई जागीरको प्रलोभनमा फसाई लुटपाट गरेका छन् ।

प्रहरीले यादवलाई विशेष सूचनाको आधारमा भदौ १४ गते मोरङको बुढीगङ्गा गाउँपालिका–३ नेमुवास्थित डेराबाटै पक्राउ गरेको हो ।