भद्रपुर । बोक्सी लागेको भन्दै महिलालाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको कनकाई नगरपालिका २ स्थित जामुनबारी बस्ने एक महिलालाई बोक्सी लागेको भन्दै यातना दिएको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने ४० वर्षीया शान्ता बुढाथोकी र २१ वर्षीय दिनेश दर्जीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार २२ बर्षीया महिला बबिता दर्जीलाई बोक्सी लागेको भन्दै बुढाथोकी र दर्जीले तातो पुन्यूले डामेर घाइते बनाएका छन् । उनीहरूले बोक्सी लागेको भन्दै झार फुकको नाममा पित्तलको पुन्यू अगेनामा तताएर बायाँ गाला र दाहिने हातमा डामेका थिए । महिला दर्जीलाई सामान्य ज्वरो आएपछि झार फुकका लागि बुढाथोकीको घरमा पुगेकी थिइन । बुढाथोकीको घरमै यस्तो घटना घटेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।
यता महिलालाई घाइते बनाएको आरोपमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले शुक्रवार राती उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बोक्सीको आरोप ९कसुर र सजाय ० ऐन २०७२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।










