नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ को शपथग्रहण समारोहमा झडप भएको छ । मंगलबार महोत्तरीको बर्दिबासमा आयोजित शपथग्रहण समारोहमा झडप भएको हो ।
पूर्वएमाले र पूर्वमाओवादी एक भएपछि बनेको नेकपाको जिल्ला पदाधिकारी छनोटमा असन्तुष्टि जनाउँदै सो झडप भएको हो । नेताहरूले आफ्ना नजिकका मान्छेलाई पदाधिकारी चयन गरेको भन्दै असन्तुष्ट पक्षले शपथग्रहण कार्यक्रम बिथोल्ने चेतावनी दिँदै आएको थियो । असन्तुष्ट पक्षले चेतावनी दिँदादिँदै शपथग्रहण समारोह निर्धारित समयमा यथावत् राखेपछि शपथग्रहण समारोह झडपमा परिणत भएको हो ।
शपथग्रहण समारोहले झडपको रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो । प्रहरीको हस्तक्षेपका कारण एकजनाको टाउकोमा चोट लागेको छ भने नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहमाथि समेत हातपातको प्रयास भएको बताइएको छ ।










