झापा। मदिरा सेवन गरी आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादहबाट एक जनालाई पक्राउ गरेको छ । शनिबार अन्दाजी ४० वर्षिय महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका– ६ दामुनाका ४५ को पुण्य चुँडाललाई पक्राउ गरेको हो ।

शनिबार विहान साढे ८ वजे मोरङको रतुवामाई नगरपालिका– ६ कपरसुख्खा टोलस्थित हरिबहादुर खड्काको गोठ घरमा अर्धचेत अवस्थामा महिला फेला परेकी थिइन् । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी महिलालाई प्रहरीले उद्दार गरी कोशी अस्पतालमा भर्ना गरेको थियो । आइतबार उपचारका क्रममा महिलाको मृत्यु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मंगोलियन समुदायकी महिलाको पहिचान खुलेको छैन । एक महिनायता खड्काको गोठमा चुँडाल र महिला बस्दै आएका थिए ।शनिबार मदिराले मातेका चुँडालले महिलामाथि निर्घात कुटपिट गरि फरार भएपछि खोजी गर्ने क्रममा सोमबार रतुवामाई नगरपालिका– १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकरी दिए ।

स्थानीयबासीले बताएको हुलियाका आधारमा चुडाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा चुँडालले हत्या गरेको स्वीकार गरेपनि महिलाको नाम र ठेगाना बताउन नसकेको श्रेष्ठले जानकारी दिए । अनलाइनखबरबाट