जुम्ला , २६ भदौ — कर्णाली प्रदेशका १० वटै जिल्ला अब मदिरा निषेधित क्षेत्र हुने भएको छ । सबै जिल्लामा मदिरा सेवन निषेधित गर्न टाइम कार्डको व्यवस्था गरिने भएको छ ।

अवैध रुपमा उत्पादन हुने मदिराका कारण प्रदेशको शान्ति सुरक्षामा खलल पुगेको भन्दै प्रदेश सरकारले मदिरा सेवन न्युनिकरण तथा व्यवस्थित गर्न लागेको हो ।अबैध रुपमा उत्पादित मदिरा सेवनका कारण समाजमा दैनिक रुपमा अपराधिक क्रियाकलाप बढेकाले प्रदेश सरकारले यस्तो निति नियम ल्याएको हो । जुम्लामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्णाली प्रदेशका आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीले मदिरा सेवन गर्नको लागि टाईम कार्ड लागु गरिने बताए । उनका अनुसार कर्णालीमा लागुऔषध, मदिरा सेवन सुरक्षाको मुख्य समस्या हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘लागु पुर्णरुपमा निषेध गरिन्छ’, उनले भने , ‘मदिरा न्युनीकरणको लागि विषेश अभियान संचालन गरिनेछ ।’ प्रहरी विद्येयक लागु हुन वित्तिकै कर्णालीमा मदिरा न्युनीकरण अभियानको शुभारम्भ हुने उनले जानकारी दिए ।

मदिरा सेवन तथा विक्रि वितरणमा बालबालिकाको प्रयोग हुने गरेको भन्दै उमेर समुह समेत निर्धारण गरिने छ । मदिरा पसल संचालनको लागि पनि प्रदेश सरकारले स्थान र व्यक्ति, समय सिमा तोक्ने र कार्डको व्यवस्था गरिने भण्डारीको भनाई छ ।