इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा दुई ठूला कम्युनिष्ट पार्टीको कारणले मात्रै संविधान निर्माण सम्भव भएको बताउनुभएको छ ।
नेकपाद्वारा शुक्रबार आयोजित प्रशिक्षणमा अध्यक्ष दाहालले संविधान निर्माणमा तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको भूमिका महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
‘अहिलेको यो संविधान दुई ठूला कम्युनिष्ट पार्टीका कारणले मात्रै समयमै जारी गर्न सफल भएको हो’ उहाँले भन्नुभयो, ‘संविधान एमालेकाे सक्रियता र माओवादी केन्द्रकै अगुवाईमा निर्माण भएको हो ।’
अध्यक्ष दाहालले एमालेकाे सक्रियता र माओवादीको लचकताका कारण एकता सम्भव भएको धारणा व्यक्त गर्नुभयो । ‘जनयुद्धकालमा नेकपा एमाले र माओवादीबीच कतिपय तिक्तता भए तापनि भित्रभित्रै एकता भइरहेको थियो’ उहाँले भन्नुभयो, पूर्व माओवादीमा पनि धेरै लचकता थियो । त्यसैले एकता सम्भव भएको हो ।’
पूर्व प्रधानमन्त्री दाहालले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । ‘मैले २०२८ सालमा कमरेड पुष्पलाल समूहबाट सदस्यता लिएको हुँ’ उहाँले भन्नुभयो, ‘कमरेड मदन भण्डारी पनि पुष्पलाल समूहबाटै आउनुभएको हो ।’










