संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने ६ सय ३४ व्यक्तिलाई मानपदवी, अलंकार र पदकद्वारा सम्मानित गरिएको गृह मन्त्रालयले जनाएको छ ।

संविधान दिवसको अवसरमा महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट स्व. मदनमणि दीक्षित र रवीन्द्रप्रसाद अधिकारीलाई सम्मानित गरिएको छ । उनीहरूलाई मरणोपरान्त यो सम्मान गरिएको हो । दीक्षितको यही साउन ३० गते निधन भएको हो भने अधिकारीको फागुन १५ गते ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाललाई सम्मानित गरिएको छ । सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट सम्मानित हुनेमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह, स्व. पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सातजना रहेका छन् ।

यसैगरी सम्मानित हुनेहरूमा उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट प्रा.डा. भगवान कोइरालासहित ८, सुप्रबल जनसेवाश्रीबाट ११३, कीर्तिमय राष्ट्रदीप ७, प्रबल जनसेवा श्री (चुतर्थ)बाट २०२, जनसेवा श्री (पञ्चम श्रेणी) बाट ११० जना र नागरिक तथा राष्ट्रसेवकले प्राप्त गर्ने अलंकारबाट ७ जना रहेका छन् ।

नेपाली सेनालाई मात्र दिइने परम पौरखबाट सहायक रथी विनोद पाण्डे, अतिपौरख भाष्करबाट २० जना, महापौरख भाष्करबाट ४३ जना रहेका छन् । यसैगरी सशस्त्र प्रहरीले मात्र प्राप्त गर्ने नेपाल प्रताप सुभूषणबाट ३०, नेपाल प्रताप आभूषणबाट २३, समाजसेवा रत्नबाट १६ र नेपाल प्रताप भूषणबाट १६ जना सम्मानित भएका छन् ।

पदकतर्फ लोकश्री १, राष्ट्रसेवक २, सत्कार्य पदक १, शिक्षाज्योति पदक ५, सगरमाथा पदक १, सुकीर्ति पदक ६, वीरता पदक ५ र शौर्य पदक ६ जनालाई प्रदान गरिएको छ ।