काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न आफु र आफ्नो दल लागि परेको बताएका छन् । अब केही हुन्छ भन्ने आफूहरुले जनतामा आशाको सञ्चार गराएको उनले बताए । आफ्नो पार्टीलाई विश्वास गरेर जनताले बलियो बहुमत दिएको र आफ्नो नेतृत्वको सरकारले विकासका लागि कतै जग हालेको र कतै पहिला वा दोस्रो तला थपेको उनको भनाई थियो ।
संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भन्नकै लागि त भन्न सकिन्छ खै त रेल, खै त पानी जहाज ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ?’
‘म बिनम्रताका साथ स्वीकार्छु । हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं ।’











