काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सानो दुःखले आर्जेको संविधान नभएकाले कसैले भनेको भरमा नबदलिने बताएका छन् ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकाद्वारा आज कुन्तामा संविधान दिवस तथा राष्ट्रिय दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जनताले रगत–पसिना बगाएर र जनताको आँशुसँग साटिएको, जनताद्वारा स्थापित दस्तावेज केही सामन्त अभिजातीय वर्ग तथा केही कुण्ठाग्रस्त वर्गले धुप बालेर नबदलिने बताए । उनले भने, “सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोज्नु ठूलो भूल हुनेछ, जुन कुरा असम्भव छ, यस्तो सपना इतिहासमा गइसक्यो ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री बाँस्कोटाले सरकारविरुद्धको कुरालाई लिएर व्यवस्थासँग बदल्न खोजिरहेका तत्वलाई वर्तमान संविधान कस्तो छ भन्ने ज्ञानसमेत नभएको उल्लेख गर्दै यस्ता वर्गको पतन अनिवार्य भएको बताए । “संविधान निरन्तर चलिरहन्छ, एक दुई असन्तुष्टिलाई लिएर व्यवस्थामाथिनै प्रहार गर्न खोज्ने विषय सफल हुन सक्दैन”, उनले भने । अब चिहानबाट निरङ्कुश राजतन्त्रका कुनै पनि अवेशष फर्केर आउन नसक्ने उनको दाबी थियो ।

उनले भने, “संविधानले राष्ट्रिय प्राण भरेको छ, जहाँ प्रत्येक नागरिकको राजनीतिक, सामाजिक र सांस्कृतिक, न्याय र सम्मानको अधिकार सुरक्षित गरेको छ ।” उनले कहीँकतै देशको प्रगति, नागरिकको अधिकार, नागरिक स्वतन्त्रता, सामाजिक न्याय, राष्ट्रिय आत्मसम्मान र आफ्नो गौरव र गाथाप्रति वर्तमान संविधानले अप्ठेरो पार्छ भने मात्रै केही पुनर्विचार गर्न सकिने बताए ।

आफूहरु राजनीतिक क्रान्तिपछि निर्माणको क्रान्तिद्वारा जनतालाई सन्तुष्टि दिलाउन चाहेको उनको धारणा थियो । उनले सरकारका कारण कसैलाई कही पनि अप्ठेरो नपरेको दाबी गरे।

उनले आर्थिक प्रगतितर्फ मुलुक उन्मुख भएकाले इतिहासमा पहिलोपटक सात दशमलव एक प्रतिशत आर्थिक वृद्धदर कायम भएकोमा खुशी हुनुपर्ने बताए ।

मन्त्री बाँस्कोटाले सरकारले स्वाधीनताका साथ, कसैसँग सत्रुता नगर्ने, सबैसँग मित्रता कायम गर्ने, संवादद्वारा समस्या समाधान गर्दै जाने सुविचारी ढङ्गले अन्तरराष्ट्रिय सम्बन्ध सुदृढ बनाउँदै लगेको बताए । उनले पैसा र समय खर्च गरी सामाजिक सञ्जाल तताएको उल्लेख गर्दै सञ्जालमा भनिएको भन्दा विपरीत प्रगति पाएपछि आफूलाई गलत महसुस हुँदै जाने बताए । हाल काभ्रेपलाञ्चोकको १९ वटा विद्यालयमा करीब रु एक अर्ब विनियोजन गरिएको र रु ५० करोडका केही परियोजना तत्कालै शुरु गर्ने उनले जानकारी दिनुभयो ।

प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईले उत्कृष्ट संविधानअनुसार निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्दै जाने बताए । अर्का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले वर्तमान संविधानलाई परिवर्तन गर्ने चुनौती कसैले पनि दिन नसक्ने दाबी गरे । जिल्ला समन्वय समितिका उपसंयोजक मञ्जु गौतम र मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले संविधानको रक्षाको निम्ति एकजुट भएर लाग्न सुझाव दिए।