एमाले संसदीय दलका उपनेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सत्तारुढ नेपाली कांग्रेसबाट चुनाव हुन नदिने खेल भएको वताएका छन् । एमाले झापा–काठमाडौं सम्पर्क मञ्चद्ववारा आयोजित नयाँ बर्ष २०७४ को शुभकामना तथा स्थानीय तहको निर्वाचनबारेको शुभकामना कार्यक्रममा नेम्वाङले एमाले तीनवटै तहको चुनावलाई अजुनदृष्टि बनाएर अघि बढेको वताए ।
कार्यक्रममा नेम्वाङले भनेः
सत्तापक्ष नेपाली कांग्रेसका २ न. प्रदेशका सांसदहरुको बैठक भएछ । त्यो बैठकले भनेछ– ३१ गतेको स्थानीय तहको निर्वाचन हुनसक्दैन । आज २ गते भइसक्यो । सत्तापक्षका सांसद भन्छन्– यो संशोधन बिधेयक पारित नगरी निर्वाचन हुन सक्दैन । सत्तापक्षकै सांसदहरु यसरी लागेपछि निर्वाचन हुन नदिने खेल भएको बुझ्न कठीन छैन । तर, तपाईहरु यस्तो भ्रममा नपर्नुहोला । हामी सबै निर्वाचनलाई अर्जुनदृष्टि लगाएर अघि बढ्नुपर्छ ।
अव तत्काल कानुन संसदमा पेश गर्नुपर्छ । सँगसँगै निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनुपर्छ । २०७४ मंसिरसम्ममा सबै तहका निर्वाचन गरिसक्नुपर्ने हुनाले त्यसतर्फ एमाले केन्द्रित छ । हामी यतिबेला चुनौती र अवसरको घडीमा छौं । गर्न सक्यौं भने अवसर हुन्छ र हामीसँग त्यो विश्वास पनि छ ।
एमाले सरकारमा जाँदैन, चुनाव सर्दैन
अस्ती सत्तापक्षका एक नेताले एमाले सरकारमा आउन खोजेको र अहिलेको चुनाव स्थगित गरेर कात्तिकमा चुनाव गराउने प्रस्ताव गरेको समेत भनेछन् । तपाईहरुलाई म भन्न चाहान्छु, यी सबै भ्रम हुन्, एमालेबिरुद्धका अनर्गल प्रचार हुन् । चुनाव के नाममा भाँड्ने र कसलाई देखाएर पन्छिने भन्ने बाहना खोजेका हुन् उनीहरुले । उनीहरुका अनर्गल प्रचारमा कुनै आधार छैन, सत्यता छैन ।
म प्रष्टसँग भन्न चाहान्छु दुई चरणमा निर्वाचन हुन सक्दैन । निर्वाचन बैशाख ३१ गते नै हुन्छ । कदाचित केही ठाउँमा हुन सकेन भने ती ठाउँमा एक सातासम्ममा निर्वाचन गराउँदा हुन्छ । तर अहिले प्रष्टसाथ भन्न चाहान्छु कि निर्वाचन एकैचरणमा हुन्छ, र त्यो ३१ गते नै हुन्छ । स्थानीय तहको मात्र होइन, २०७४ मंसिरसम्ममा तीनै तहको निर्वाचन हुन्छ । एमालेले निर्वाचन चाहेको छ, त्यसैले निर्वाचन हुन्छ ।
चुनावपछि बहुमतको सरकार
एमाले अहिले सरकारमा जाँदैन, जाने सोच्दा पनि सोच्दैन । निर्वाचनपछि एमालेले बहुमतको सरकार बनाउँछ । ४÷५ वर्ष सरकार चलाउँछ । अव बहुमतको सरकार चलाउने जनसमर्थन भएको पार्टी एमाले मात्र हो, एमालेले बहुमतको सरकार चलाउँछ ।
सरकार निर्वाचन नगर्न खोजिरहेको छ । त्यसैले उसले संसदको बैठकसमेत अस्ती चैत २८ गतेबाट एकैपटक बैशाख ७ मा राखेको छ । हामीले बैशाख १ देखि सांसद र नेताहरुलाई जिल्ला जानुहोस् भनेका थियौं, तर त्यस बीचमा पनि बैठक राखिएको छ । निर्वाचन कानुनतर्फ ध्यान नदिने अनि बैठक राख्नका लागि राख्ने काम भइरहेको छ । किन भइरहेको छ भने मधेशी मोर्चाका मागलाई सम्बोधन गर्न, संशोधन बिधेयक पारित गर्न भन्दै संसद राखिरहेको छ । कामै बेगर संसद राखिरहेको छ । सरकार जे गरोस्, एमालेको चाहना, जनताको चाहना अनुसार अव निर्वाचनलाई कसैले रोक्न सक्दैन । तपाईंहरु चुनावमा लाग्नुहोस्, सबैतिरबाट एमालेलाई जिताउनुहोस् ।
एमालेको अविचल अडानले संविधान बन्यो
एमालेको क्रियाशीलता र एमालेको अडानमा नेपाली जनताको ७० बर्षदेखिको चाहना पूरा भएको सबैलाई थाहा छ । एमालेको अविचलित मान्यताका कारण संविधान बन्यो । यो यही नारा लिएर जनतामा जानुहोस् । कोही साथीहरुले नेपालको नामै परिवर्तनको एजेण्डा लिएर आउनुभयो, कोही साथीहरुले राष्ट्रिय झण्डा फेर्ने कुराहरु समेत गर्नुभयो । कोही साथीहरुले संविधान अहिले जारी नगरांैं समेत भने, कोहीले केही समय सारौं भनेका थिए । ती सबै रेकर्डमा छन् । तर एमालेको अडानले संविधान जारी भयो ।
एमालेको पहलमा जारी भएको संविधान समाबेशी छ । जनजाति, मधेशी लगायत सबैलाई यसले अधिकार दिएको छ । कसैले मधेशी र जनजातिलाई अधिकार दिएको छैन भन्यो भने प्रश्न गर्नुहोस्– यो संविधानमा कहाँ मधेशी र जनजातिलाई भेदभाव गरिएको छ ?
वास्तबमा यो सबै भ्रम छर्न गरिएको छ । एमाले अध्यक्ष केपी ओलीको सरकारले पहिलो पटक मधेशको बिकासका लागि बजेट छुट्ट्यायो । मधेशी मोर्चाका सबै नेताहरु मन्त्री बन्नुभएको छ । कति त कयौं पटक मन्त्री बन्नुभयो । तर कहिल्यै पनि मधेश र मधेशीका लागि बजेट छुट्ट्याएको थाहा पाउनुभएको छ ? छैन । तर एमाले अध्यक्ष प्रधानमन्त्री भएका बेला मधेशको बिकासका लागि पर्याप्त बजेट छुट्ट्याएको थियो ।
कार्यक्रममा एमाले नेता नरेश खरेल, केन्द्रीय सदस्य हिक्मत कार्की, प्रदेश नम्बर १ सम्पर्क कमिटीका संयोजक ईन्द्र भण्डारी र अधिवक्ता टीकाराम भट्टराईले निर्वाचनका विभिन्न पक्षमाथि भनाई राखेका थिए ।



