नयाँदिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरु कण्डम बोकेर हिंड्ने गरेका छन् । सबैजसो ट्याक्सी चालकले ट्याक्सीमै कण्डम राख्ने गरेको पाइएको हो ।

भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कतिपय स्थानमा ट्राफिक प्रहरीले चेकिङका क्रममा ट्याक्सीभित्र प्राथमिक उपचारका सामान भए–नभएको समेत हेर्ने गरेको र त्यस्ता सामान नरहेको पाइए भारी जरिवाना गरेको चालकहरुको गुनासो छ ।

प्राथमिक उपचारका सामान राख्ने बाकसमा ट्याक्सी चालकहरुले कण्डम समेत राख्ने गरेका हुन् । यद्यपि सवारी साधनमा कण्डम अनिवार्य नगरिएको ट्राफिक अधिकारीहरु बताउँछन् । चालकहरु भने चेकिङका क्रममा ट्राफिकले कण्डम समेत खोज्ने गरेको बताउँछन् ।

एएनआई समाचार एजेन्सीका अनुसार कतिपय चालकले कण्डम नबोकेकै आधारमा जरिवाना तिरेको बताएका छन् । जरिवाना तिर्नु परेकै कारण पछिल्लो समय दिल्लीका अधिकांश ट्याक्सी चालकले कण्डम बोक्न थालेका हुन् ।

त्यसो त, कण्डमलाई सुरक्षित यौन सम्पर्कका लागि मात्र नभई अन्य प्रयोजनमा समेत प्रयोग गर्न सकिन्छ । सवारी चालकले कण्डम साथमा राख्दा फाइदा नै हुने अधिकारीहरुको भनाइ छ ।

मोटरको ‘प्रेसर पाइप’ फुट्दा इन्धन चुहावट रोकेर गन्तव्यतर्फ पुग्नका लागि कन्डम प्रयोग गर्न सकिने उनीहरुको भनाइ छ । यस्तै, चोट पटक लागेको अवस्था रक्तस्राव रोक्न सकिने गरी कण्डमले शरीरका अंग बाँध्न सकिने, वर्षाको समयमा जुत्तालाई भिज्नबाट बचाउन सकिने जस्ता फाइदा कण्डमबाट हुने चालकहरु बताउँछन् ।

दिल्लीस्थित सर्वोदय ड्राइभर एशोसिएसनका अध्यक्ष कमलजित गिलका अनुसार चालकहरुले कण्डम बोकेर हिंड्नु बाध्यता भएको छ । तर, यसले चालकलाई आपतकालीन अवस्थामा फाइदा नै पुग्ने उनको भनाइ छ ।

‘प्राथमिक उपचारको सामान राख्ने बाकसमा प्रहरीले चेकजाँच गर्ने गरेका छन्,’ उनले भने, ‘केही चालकले कण्डम नबोकेकै कारण जरिवाना तिर्नुपरेको गुनासो पनि गरेका छन् ।’

सार्वजनिक यातायातमा कम्तीमा तीन वटा कण्डम बोक्नु उपयुक्त हुने उनको भनाइ छ । कण्डमलाई यौन सम्पर्कका दृष्टिले मात्र नहेरी अन्य आकस्मिक अवस्थामा यसको प्रयोग चालकहरुले गर्न सक्ने उनले बताए । एजेन्सी