सिन्धुली , ५ असोज — यौन प्रस्ताव नमान्दा सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । मरिण गाउँपालिका वडा नं- १ आहालेकी १३ वर्षीय छलिमाया मोक्तानले १५ वर्षीय युवकको यौन प्रस्ताव अस्वीकार गर्दा बिहिबार दिउँसो उनको ज्यान गएको हो ।

गाउँमै रहेको हजुरआमाको घरमा गएर फर्केकी बालिकाको पिछा गरेका ती किशोरले नजिकैको जंगलमा रहेको खोल्सामा पुगेर बालिकाको हत्या गरेको पाइएको छ । बालिकासँग करिब एक घण्टा गफ गरेको र यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी थिची हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्र बहादुर सिंहले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार ती किशोरले आफुले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी निमोठेको र बालिका लडेपछि पुनः थिचेर हत्या गरेको स्वीकार गरेका छन् ।किशोरलाई शनिबार मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको छ । परिवारका सदस्यले खोजी गर्दा बालिका फेला नपरेको र असोज ३ गते साँझ मृत फेला परेपछि हत्याबारे प्रहरीले जानकारी पाएको एसपी सिंहले बताए । बालिकाको शव सिन्धुली अस्पतालमा शनिबार नै पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको उनले बताए ।

बालिकासंगै ती युवा गएको देखेका स्थानीय व्यक्तिले जानकारी दिएपछि युवकलाई प्रहरीले खोजी गरेको थियो । काठमाण्डुको होटलमा मजदुरका रुपमा काम गर्ने ती किशोरले बालिकासँग यसअघि पनि यौन सम्बन्ध राखेको प्रहरीले बताएको छ । किशोरलाई २०७६ असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।