काठमाडौं। नेकपाका २९ मेयर केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन्। पढाइका विषय छन्– चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगीकरण, सहरीकरणलगायत। साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन्।

‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्रध्यापकले तिनलाई पढाउने गरेका छन्।

कक्षा बिहान र अपराह्न गरी दुई चरणमा दैनिक हुन्छ। कक्षा नभएका बेला चीनको विकास देखाउन स्थलगत भ्रमणमा लगिन्छ।

टोलीमा ७ वटै प्रदेशबाट कम्तीमा ४ जना सहभागी छन्। उनीहरू सबैलाई प्रधानमन्त्री कार्यालयले छानेको हो। उनीहरूलाई विश्वविद्यालयभित्रकै भवनमा बस्ने प्रबन्ध मिलाइएको छ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुरको चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मि श्रले टोलीको नेतृत्व गरेका छन्।

प्रधानमन्त्री कार्यालयले नेपालस्थित चिनियाँ दूतावाससँग समन्वय गरी यो अध्ययन भ्रमणमा पठाएको हो।  अन्नपूर्ण पाेस्ट दैनिकबाट साभार