पर्वत/ पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा पहिरोले पुरिएर एक सव–ओभरसियरको मृत्यु भएको छ ।
मोरङको बेलवारी नगरपालिका–२ घर भई मध्यपहाडी लोकमार्ग आयोजनामा कार्यरत सव–ओभरसियर १९ वर्षीय कमल राईको मृत्यु भएको हो ।
सोमबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा रहेको खरेहामा बाटो नाप्दै गरेको समयमा एक्कासी माथिबाट खसेको पहिरोले पुरिएर उनको मृत्यु भएको हो ।
बिहान करिब पौने १० बजेको समयमा लोकमार्गको बाटो नापजाँच गरेका राईलाई ढिस्कोले पुरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पश्चात् घट्नास्थल पुगेको प्रहरीले केही समयमै उनलाई उद्धार गरि जिल्ला अस्पताल पर्वतमा पुर्याएको थियो ।
चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । राईको शव अहिले पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।










