काठमाडौं, असोज ७ । चिनियाँ कम्युनिस्ट पार्टी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा जारी सम्मेलनमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा आज दुई पार्टीको बिदेश बिभागबीच संझौतापत्रमा हस्ताक्षर भएको हो । अध्यक्षद्धयको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तराष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता सोङ ताओ नेतृत्वको टोली सोमबार काठमाडौं आएको थियो । चिनियाँ राष्ट्रपति सि जिनपिङको आसन्न नेपाल भ्रमणको तयारीस्वरुप उक्त टोली नेपाल आएको हो । चिनियाँ टोली र नेकपाबीच सोमबार ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ कार्यक्रमको उद्घाटन भएको थियो ।

उक्त कार्यक्रम आज पनि जारी रहेको छ । सोही अवसरमा समृद्धिको सपना पूरा गर्न चीन र नेपालका सत्तारुढ कम्युनिस्ट पार्टीबीच सहयोग आदान प्रदानबारे संझौता भएको हो ।