स्वतन्त्र मधेशको अभियान चलाउँदै आएका सिके राउतलाई अन्ततः राज्यविप्लव मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ ।
स्वतन्त्र मधेश गठबन्धनका संयोजक सी.के. राउतलाई रुपन्देही प्रहरीले राज्यविप्लव (राज्यविरुद्धको सगंठित अपराध) मुद्दामा अनुसन्धान सुरु गरेको हो ।
आइतबार उनलाई जिल्ला अदालत रुपन्देहीमा राज्यविप्लव मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
चैत ३१ गते सिरहा जिल्ला अदालतबाट १० हजार रुपैयाँ धरौटीमा रिहा भएका उनलाई रिहालगत्तै सिरहा प्रहरीले पक्राउ गरी रुपन्देही प्रहरीलाई बुझाएको थियो ।
प्रहरी स्रोतका अनुसार रुपन्देही प्रहरीले राउतलाई केही विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरी सहयोग गर्न आग्रह गर्दै सिरहा प्रहरीलाई पत्राचार गरेको थियो ।
सोही पत्रका आधारमा अदालतबाट धरौटीमा रिहा भएलगत्तै राउतलाई पक्राउ गरी बुटवल ल्याइएको थियो । आज रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । यतिबेला राउतको बैंक व्यालेस, चल अचल सम्पती समेत रोक्का गरिएको छ ।



