काठमाडौं/ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामान्य जीवनयापन पनि गर्न नसक्ने अवस्थामा रहेका श्रमिकको पक्षमा काम गर्ने बताएका छन् ।
विश्व ट्रेड युनियन महासंघ विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले श्रमिकहरु सधैं पीडित हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।
श्रममन्त्री विष्टले विश्वमा हातहतियार खरिदको होडबाजी चलिरहेको भन्दै सम्मेलनले श्रम क्षेत्रमा सबैखाले लगानी आकर्षित गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिए ।
श्रमिक बलियो भएमात्र उद्योग धन्दा फस्टाउने भन्दै उनले श्रममा विश्वास गर्न आग्रह गरे ।
एसिया प्रशान्त क्षेत्रका श्रमिकहरुको हितका लागि श्रमिकहरु एक हुनुपर्नेमासमेत उनले जोड दिए ।त्यस्तै मन्त्री विष्टले रोजगारी सृजना हुने क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरेका छन् ।दुई दिनसम्म चल्ने सम्मेलनमा २० देशका श्रमिक प्रतिनिधि सहभागी छन् ।










