मेचीनगर, ७ असोज
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उपभोक्तालाइ कसैले ठगेमा त्यस्तालाइ कार्वाही गर्ने चेतावनी दिएकाछन् । उनले चाडपर्वको समयमा दैनिक उपभोग्य सामाग्रि तथा अन्य चिजहरुको माग बढ्ने भएकाले यसमा कालोबजारी हुने र बढि मूल्य लिन खोजेमा स्थानीय सरकारले कार्वाही गर्ने चेतावनी दिएकाहुन् ।
आँउदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर कुनै पनि उपभोग्य वस्तुको मुल्य वृद्घि नगर्न तथा बजारमा कृत्रिम अभाव नगर्न म आग्रह गर्दछु, आचार्यले भने । यदि त्यस्तो पाईएमा कार्वाही हुन्छ र गर्छौ, उनको भनाइ रहेको थियो ।
मंगलबार नगपालिका सभाकक्षमा सरोकारवालाहरुसंग छलफलमा उनले यस्तो बताएका थिए । कुनै व्यापारीले आफु खुशी उपभोग्य वस्तुको मुल्य बृद्घि गरे त्यो जानकारी दिन आग्रह गरे । भारतबाट मासु तथा मासुजन्य वस्तुको आयातमा नेपाल सरकारले रोक लगाएका कारण त्यसको आयात शुन्यमा झार्न स्थानीय प्रहरी ,प्रशासन, व्यवसायी सवै एक भएर लाग्नुपर्नेमा पनि उनको जोड थियो ।
नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले चाडपर्वको मौका छोपेर गठी धन्दा चलाएमा त्यो नसहने बताइन् । उनले अनुगमनलाइ निरन्तरता दिदै प्रभावकारी बनाउदै लैजाने उल्लेख गरिन् । यहि मौका हो भनेर फाइदा लुट्ने सोच कसैले नराख्नुहोला र राखेको भए त्यो हामी हुन दिदैनौ, उनले थपिन ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, सचिव रविचन्द्र नेपाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेती लगायतले बोलेका थिए ।











