भद्रपुर । एक नम्बर प्रदेश सरकारले ‘म अघि बढ्छु’ कार्यक्रमलाई सफल बनाउन झापा जिल्लामा यस अभियानलाई तीव्रता दिएको छ । एक नम्बर प्रदेश सरकार अन्तरगतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूर्वको १४ वटै जिल्लामा सञ्चालनमा ल्याएको ‘म अघि बढ्छु’ कार्यक्रमलाई सफल बनाउन जुटेसँगै जिल्लामा यस अभियानलाई तीव्रता दिएको हो । यसैक्रममा ‘म अघि बढ्छु’ झापा जिल्ला स्तरीय अनुगमन समितिको आयोजनामा मंगलबार भद्रपुरमा सामुदायिक तथा निजी विद्यालयका शिक्षक नायकहरूलाई एक दिने प्रशिक्षण दिइएको छ ।

‘म अघि बढ्छु’ अभियानमा सामाजिक तथा सांस्कृतिक पक्षहरूलाई सुदृढ गर्दै किशोर अवस्थामा प्रवेश गरेका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान्, सकारात्मक, सुसंस्कृत, नैतिक, सभ्य, लागु औषध दुर्व्यसन मुक्त, सृजनशीलता, सामाजिक उत्तरदायी तथा समतामूलक समाज निर्माण गर्न सहयोग पुर्‍याउनेमा विद्यालयको शिक्षकहरूको महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरूलाई प्रशिक्षण दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रशिक्षण कार्यक्रममा ५५ जना शिक्षक नायकहरूको सहभागिता रहेको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली र जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरीक्षक होम अधिकारीले सहजीकरण गरेका थिए । झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय अनुगमन समितिका संयोजक उदय राणा मगरको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन डम्बर अधिकारीले गरेका थिए ।