ताप्लेजुङ । गत असार ४ गतेबाट अवरुद्ध ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाइ सुचारु भएको छ । तिन महिना अघि अन्तिम पटक उडान गरेको नेपाल वायुसेवा निगमको जहाजले बिहीबारदेखि उडान थालेको हो ।
मौसमका कारण बिचको अवधिमा उडान हुन सकेको थिएन । बिहीबार काठमाडौंबाट तीन बालबालिकासहित ९ यात्रु लिएर गएको जहाज ताप्लेजुङबाट भने रित्तै फर्किएको छ । बुधबार गर्ने भनिएको उडान मौसमका कारण स्थगित भएको थियो ।
काठमाडौंबाट भने दसैं सम्मका लागि यात्रुहरुले अग्रीम टिकट लिएका छन । मौसम प्रतिकुल र जहाजमा समस्या नभए साताको तीन दिन शनिबार, सोमबार र बुधवार नियमित उडान गरिने निगमका ताप्लेजुङ इञ्चार्ज राजु कार्किले जानकारी दिए ।
ताप्लेजुङ, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराइको गृह जिल्ला पनि हो । भट्टराइका स्वकिय सचिव प्रेम गुरागाइँका अनुसार निगमका बिग्रीएका जहाज बनेपछि सातामा पाँच उडान गरिने तयारी गरिएको छ । निगमको उडान अपुग भए निजी कम्पनिसँग सहकार्य गरेर भएपनि यात्रुलाई सहज बनाइने उनको भनाई छ ।










