भद्रपुर । झापाका व्यवसायीलाई ‘हनीट्रयाप’ मा फसाएर ४० लाख फिरौती माग्ने चारजनालाई कारागार चलान गरिएको छ। उक्त घटनामा संलग्न चारजनालाई झापा कारागार चलान गरिएको हो। उनीहरूलाई झापा जिल्ला अदालत भद्रपुरले पुर्पक्षका लागि शुक्रबार झापा कारागार चलान गरेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न बिर्तामोड नगरपालिका ४ मा मोटरसाइकलको रिकण्डिशन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम १ घर भई हाल बिर्तामोड २ स्थित चारपाने बस्ने २० वर्षीया ऋतु फ्याक, भारत दार्जिलिङ जिल्ला खोरीबारी ठेगाना बताउने २७ वर्षीय सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड ४ बस्ने २५ वर्षीय प्रकाश दासलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनका अनुसार उनीहरूले गत साउन १ गते बिर्तामोडका एक व्यवसायीलाई युवतीको प्रयोग गरी प्रेम जालो ‘हनिट्रयाप’ मा फसाएर अपहरण गरेका थिए। अपहरण गरी कोठामा राखेका व्यवसायीलाई कुटपिट गर्दै कपडा खोल्न लगाएर नांगो भिडियो बनाएर ४० लाख फिरौती मागेका थिए। व्यवसायीलाई अपहरण गरेका चारैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीले साउन ३ गते पक्राउ गरी अनुसन्धान अघि बढाएका थिए।