काठमाडौं, १२ असोज । नेपालीले दूरसञ्चार सेवा उपभोगका लागि वार्षिक एक खर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ–उनीहरूले फोन गर्न तथा इन्टरनेट चलाउन यो रकम खर्च गरेका हुन् । नेपालमा दूरसञ्चार सेवा सञ्चालनरत कम्पनीले अघिल्लो आवमा सेवा बिक्रीबापत एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको दूरसञ्चार प्राधिकरणको तथ्यांक छ ।
सेवाप्रदायकको सेवा बिक्रीबापतको आम्दानी नै उपभोक्ताको खर्च हो । सेवाप्रदायकको आम्दानीका आधारमा नेपालीले फोन तथा इन्टरनेट सेवा उपभोगमा करिब एक खर्ब रुपैयाँ खर्चिने देखिएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए ।
प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७१(७२ मा सेवा सञ्चालनरत ४१ कम्पनीले कुल ९९ अर्ब दुई करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका थिए । अघिल्लो आर्थिक वर्ष ०७०(७१ मा दूरसञ्चार कम्पनीले कुल ९२ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेका थिए ।










