काठमाडौं/ दशैंमा यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गर्न यात्रुको भेषमा ट्राफिक प्रहरी परिचालन हुने भएका छन् । एक सिफ्टमा ३० भन्दा बढी सादा पोसाकका प्रहरी परिचालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार उपत्यकाका व्यस्त चोक तथा सहरमा यात्रुको भेषमा खटिएका ट्राफिक प्रहरी ट्याक्सी चालक नजिक गएर यात्राका लागि आग्रह गर्नेछन् । ट्याक्सी चालकले बार्गेनिङ गरे, जान नमाने वा तोकिएभन्दा धेरै भाडा भने ठाउँका ठाउँ पक्राउ गर्ने गरिने र कानुन बमोजिम कारबाही गरिने छ । ट्याक्सी निगरानीको काममा विशेष गरी महिला प्रहरी खटिने छन् ।
‘दशैंमा सार्वजनिक यातायातका साधन कम चल्छन् । यस्तो वेला ट्याक्सीको विकल्प हुन्न । तर, चालकले यस्तैमा मौका छोपेर ठग्छन्,’ महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले भने, ‘विगतबाट पाठ सिकेर यसपटक हामीले सादा पोसाकमा ट्राफिक प्रहरी खटाउने छौं । उनीहरू यात्रुको भेषमा रहनेछन् । बदमासी भएको थाहा पाउनासाथ कारबाही गरिने छ ।’
महाशाखाका अनुसार यात्रुबाट आएको सूचनालाई पनि कारबाहीको मुख्य आधार मानिने छ । सूचना संकलनका लागि महाशाखामा २४सै घन्टा ट्राफिक प्रहरी अलर्टमा रहनेछन् । ‘यात्रुको सूचनाअनुसार पनि हामी कारबाही गर्नेछौं । यसका लागि महाशाखामा विशेष टोली रहन्छ,’ उनले भने, ‘यात्रुबाटै सूचना आएन भने त हामी के नै गर्न सक्छौं र ? तर, सूचना आएको खण्डमा हामी छाड्दैनौं । तुरुन्तै कारबाही गर्नेछौँ ।’
महाशाखामा अनुसार उपत्यकाभित्र १० हजारको संख्यामा ट्याक्सी सञ्चालित छन् । कतिपयले यात्रुसँग भाडामा बार्गेनिङ गर्ने, मिटरमा नजाने, भनेको स्थानमा जान इन्कार गर्ने, तोकिएको भन्दा धेरै भाडा असुल्ने, यात्रुलाई अनावश्यक दुःख दिनेलगायतका गतिविधि गर्दै आएका छन् । सादा पोसाकमा प्रहरी परिचालित भएपछि यात्रुले भोग्दै आएको सास्ती कम हुने एसपी पौडेलले बताए । नयाँ पत्रिका










