५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकामा वातावरणीय स्वच्छताकोे विषयलाई आ–आफ्ना दलका घोषणापत्रमा समेट्न सरोकारवालाले माग गरेका छन् ।

साइकल सिटी पोखरासहितका चारवटा संस्थाको प्रतिनिधिमण्डलले आज नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको कार्यालयमा पुगेर वातावरण संरक्षणको विषयमा ध्यानाकर्षण गराएको हो ।

पोखराको सुन्दरतालाई कायम राख्न वातावरणीय संरक्षण आवश्यक रहेको भन्दै ध्यानाकर्षणपत्रमा पोखरालाई साइकल सिटीका रुपमा अघि बढाउनुपर्नेमा माग गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली काँग्रेस कास्कीको कार्यालयमा पार्टीका उपसभापति हरि आचार्यलाई ध्यानाकर्षणपत्र बुझाउँदै साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले पोखराको सुन्दरता कायम गरी यहाँको वातावरणलाई बचाउनका लागि साइकल सिटीको अवधारणालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

कास्कीमा क्रियाशील सबै राजनीतिक दललाई वातावरण संरक्षणको विषयलाई आफ्ना घोषणापत्रमा समेट्नका लागि ध्यानाकर्षणपत्र बुझाइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले पोखराको सुन्दरता बचाउनका लागि वातावरण संरक्षण अपरिहार्य भएको बताउँदै उक्त विषय पार्टीको प्राथमिकतामा रहको धारणा व्यक्त गर्नुभयो ।

उक्त टोलीमा साइकल सिटी पोखरासहित मिलेर हामी गर्न सक्छौँ, एनवाइसिए पोखरा, साइकल सिटी लेखनाथका प्रतिनिधिको सहभागिता थियो ।

एमालेले वडाअध्यक्षको उम्मेदवारमा सर्वसम्मत सिफारिस

नेकपा (एमाले)ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पोखरा–लेखनाथ महानगरपालिका केही र चार गाउँपालिकाबाट वडाअध्यक्ष तथा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

एमाले वडा कमिटीले महानगरपालिकाको वडा नं ४, ९, १०, १५, २२, २५ र २७ मा क्रमशः ढाकामोहन पराजुली, गोपी तुलाचन, महेन्द्र गुरुङ, प्रकाश पौडेल, मित्रलाल बराल, शोभाखर तिमिल्सिना र कुमार गुरुङलाई वडाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरिएको जिल्ला कमिटीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती वडामा वडासदस्य, महिला र दलित महिला सदस्यमा पनि सर्वसम्मत सिफारिस भएका छन् ।

यस्तै माछापुच्छ«े गाउँपालिकाको वडा नं १, २, ३, ५, ६, ७, ८, ९ मा क्रमशः अनुप गुरुङ (आशा), विक्रम गुरुङ, सूर्य लम्साल, जुमबहादुर गुरुङ, हरिश्चन्द्र ढुङ्गाना, सोमबहादुर गुरुङ, कृष्ण दवाडी, दुर्गाबहादुर क्षेत्री सिफारिसमा पर्नुभएको छ ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाको वडा नं १ मा केदारनाथ अधिकारी, २ मा चूडामणि अधिकारी, ३ मा चन्द्रबहादुर गुरुङ, ४ मा ताइकाजी गुरुङ, ५ मा अर्जुनबहादुर केसी, ६ मा लीला देवकोटा, ७ मा घनश्याम चापागार्इं, ९ मा पृथ्वीलाल जैसी, १० मा कुमार गुरुङ र ११ मा हिमबहादुर गुरुङ सर्वसम्मत सिफारिसमा पर्नुभएको छ ।

यसरी नै सर्वसम्मत सिफारिस पर्नेमा मादी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, १० र ११ मा क्रमशः सुरज गुरुङ, एक्काजङ्ग गुरुङ, ज्यामप्रसाद गुरुङ, सत्यराज सापकोटा, ई सुब्बा गुरुङ, पसबहादुर बाँस्तोला, बालकृष्ण गुरुङ, कुलप्रसाद गुरुङ र अमृत गुरुङ हुनुहुन्छ ।

यस्तै रुपा गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ मा क्रमशः सोमसुनारी मगर, श्रीकृष्ण सुवेदी, रामजी अधिकारी, नगेन्द्रवंशी, टेकबहादुर गुरुङ र नारायण गुरुङको सर्वसम्मत सिफारिस भएको छ ।

महानगरपालिकाका प्रमुख, उपप्रमुख र बाँकी वडाध्यक्ष तथा सदस्यहरु र गाउँपालिकाका केही वडाध्यक्ष र सदस्यको टुङ्गो अबको चार दिनभित्र लागिसक्ने कार्यालय सचिव क्षेत्रीले बताउनुभयो ।