समयमै उपचार नपाउँदा तेह्रथुमको सदरमुकाम म्याङलुङमै गर्भवतीको ज्यान गएको छ । धामी झाँकीको भरपरी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलङ नगरपालिका–१ भदौरेकी २२ वर्षीय शान्ति भण्डारीको ज्यान गएको हो । प्रसूति व्यथा लागेको लामो समयपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएर जाँच सुरु गर्दै गर्दा आज अपराह्न मृत्यु भएको हो ।
प्रसूति व्यथा लागेको लामो समयपछि मात्रै अस्पताल ल्याएकाले उनको मृत्यु भएको जिल्ला अस्पतालका डा मुक्तिनारायण शाहले बताउनुभयो । मृतक शान्ति सोमबार बेलुकीबाटै बिरामी परेकी थिइन् । तर परिवारले घरायसी औषधि र धामी झाँक्री लगाउन थालेपछि अस्पताल लैजान ढिलो भएको थियो ।
उनलाई आज दिउँसो मात्र जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । मृतक शान्तिको नियमित स्वास्थ्य जाँच र परीक्षण नहुँदा निमोनियाको कारण प्रसूति हुन नसकेर ज्यान गएको डा शाहले बताउनुभयो ।
गर्भवती महिलाले गर्भावस्थामा कम्तिमा पनि चारपटक स्वास्थ्य परीक्षण गराउनुपर्छ । गर्भवती महिला र शिशुको स्वास्थ्यलाई लक्षित गर्दै सरकारले सुरक्षित प्रसूतिका लागि करोडौँको लगानी गरेको छ । तर यहाँ भने सदरमुकाममै गर्भवती महिलाको नियमित स्वास्थ्य जाँच नहुनु र अस्पताल लैजान ढिला भएर मृत्यु हुनु लज्जास्पद भन्दै महिला अधिकारकर्मीले आलोचना गरेका छन् । रासस



