भक्तपुर/ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई बदनाम र कलंक बनेर नबस्न आग्रह गरेका छन् ।
आज भक्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिता जनाउँदै नेता नेपालले यौन काण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराको हालैको प्रकरणलाई लक्षित गर्दै आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेता नेपालले विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढ्नसमेत बताए ।
नेता नेपालले भने, ‘विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढौं, तर बदनाम र कलंक बनेर नबसौँ ।’
नेपाल र नेपालीको शान र इज्जत बढाउनका लागि जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै सरकारको दायित्व रहेको नेता नेपालको भनाई छ ।
पार्टीको अग्नी परीक्षा सुरु भएको भन्दै नेता नेपालले वडा, नगर, प्रदेश र संघले गरेका कामको जनताले मूल्यांकन गरिरहेकाले हिजो के भयो भन्ने भन्दा पनि आफ्नो कमजोरी स्वीकार गर्नुको विकल्प नभएको बताए ।
मदिरापान गर्ने बानीले धेरै कुराको हानी गर्ने भन्दै नेता नेपालले सकेसम्म मासुसम्म कम खाएर चाडपर्व मनाउन समेत आग्रह गरेका छन् ।










