झापा । पानीमा डुबेर झापा र इलाममा दुई जना बालिकाको मृत्यु भएको छ । प्रहरी कार्यालय झापाका अनुसार झापाको शिवसताक्षी नगरपालिका १ बस्ने नरनाथ राईको ४ वर्षीया छोरी खानुमा राई पोखरीमा डुबेर मृत्यु भएको छ ।
आँगनमा खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा आफन्तजनले देखेपछि तत्काल बालिका राईलाई उद्धार गरी अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा बुधवार दिउँसो मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
उता इलामको माई नगरपालिका ५ रमिते बस्ने जीवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ । जमुना खेल्ने क्रममा आफ्नै आँगनमा राखिएको बाल्टिनको पानीमा डुबेर घाइते भएकी थिइन । उनलाई उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।










