काठमाडौं, ६ वैशाख । ज्योतिषहरुले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छिट्टै प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका छन् ।
‘पुष्पकमल दाहालपछि अबको अवस्थामा शेरबहादुर देउवाको ग्रहगति, नक्षेत्र, लग्न, आकाशका तारा, ग्रह पीण्ड, तीर्थ अवस्थाहरु र तन्त्रविद्याबाट उहाँको स्वरलिपी छन्दहरु, चक्रहरु, नेत्र चक्रहरु, रुद्रघण्टी यी सबै चक्रहरुको अन्वेषण गर्दाखेरी देउवा नेपालको प्रधानमन्त्री ग्यारेन्टी बन्ने योग छ,’ ज्योतिष तान्त्रिक बिहंगमराज तिमिल्सिनाले भने ।
हिमालय टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा बोल्दै अर्का ज्योतिष डा. सुनील सिटौलाले पनि प्रचण्डपछि काँग्रेस सभापति देउवा नै प्रधानमन्त्री बन्ने योग रहेको बताए ।
‘ज्योतिषशास्त्रलाई हेर्ने हो भने जेठदेखि भदौसम्म सरकार परिवर्तन हुने देखिन्छ । यो बीचमा शनि र वृहस्पतीको मुभमेन्ट हुँदैछ, डेफिनेट्ली सरकार चेञ्ज हुन्छ,’ ज्योतिष सिटौलाले भने– ‘तर, मैले देउवाको कुण्डली हेरेको छैन्, राशीअनुसार उहाँ भदौभित्रमा प्रधानमन्त्री हुने योग छ ।’
दुबै ज्योतिषले यो वर्ष देशमा कुनैपनि किसिमको प्रलय नआउने समेत बताएका छन् ।
-दैनिक नेपाल



