काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा स्थानीय तहको चुनाव दुई चरणमा गर्ने छलफल भएको छ । बुधबार विहान बालुवाटारमा बसेको बैठकमा सहभागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम सहभागि बैठकमा यस्तो छलफल भएको हो ।
आन्दोलनमा रहेको मधेसी मोर्चा चुनावमा सहभागि नभएपनि जसरी पनि चुनाव गर्न पाँच दलका शीर्ष नेताहरु सहमत भएका छन् । सरकारले घोषणा गरेको मिति चुनाव गराइ छाड्न सहमत भएका हुन् । यदि मधेसी मोर्चा सहमतिमा आए पहिलो चरण वैशाख ३१ गते र दोस्रो चरण जेठको २५ गते गर्ने छलफल भएको बैठकमा सहभागि एक नेताले जानकारी दिए । मोर्चा अाएमा दुर्इ चरणमा गर्ने प्रस्तावमा सहभागि दलहरू सहमत भएका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्डले यदि मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्दा के हुन्छ भनेर दलका शिर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रचण्डको यो प्रस्तावमा सबै भन्दा पहिलो नेपाली कांग्रेसका शेरबहादुर देउवाले सहमति जनाएका छन् ।
चुनाव हुनै नदिने अडान लिएर मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरिरहँदा अर्कोतिर सत्तारुढ दल राप्रपा नै निर्वाचन आयोग विरुद्ध जाँदा अन्यौल श्रृजना भएको प्रचण्डले बैठकमा बताएका थिए । एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले सकभर एकै चरणमा चुनाव गरौं, नत्र दुई चरणमा गर्ने भएपनि सहयोग गर्ने बताएको जानकारी दिएका छन् । उनले बैठकको अन्य कुार भने खोल्न चाहेनन् ।
त्यस्तै बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । निर्वाचन पूर्व नै मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन वार्ता र संम्वादको प्रक्रिया जारी राख्ने निर्णय गरेको छ । बैठकमा स्थानीय तहको निर्वाचन, मधेशी मोर्चाले उठाएका माग र संविधान संशोधनका विषयमा छलफल भएको थियो । मधेसी मोर्चालाई पनि निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउने निर्णय गरेको छ ।
प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष बामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुवास नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, नेता वर्षमान पुन ‘अनन्त, लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार, आपूर्तिमन्त्री दीपक बोहरा लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।
-खबरडबली



